गाडी किन्न कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छन् ? यस्तो छ अफर



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने स्किम ल्याएका छन् ।

बैंकहरुले नाडा अटो शोको अवधिमा गाडी खरिद गर्नेलाई लक्षित गरी अन्य समयमा भन्दा सस्तो ब्याजदरमा लोन उपलब्ध गराउने बताएका छन् । बैंकहरुले विदयुतीय गाडीमा झनै सस्तो ब्याजदरमा ऋण दिने स्किम ल्याएका छन्। जसको फाइदा ग्राहकले उठाउन सक्नेछन् ।

भदौ १० गतेदेखि शुरु मेलामा विभिन्न कम्पनीहरुले लेटेस्ट मोडेलका गाडी मेलामा राखेका छन् । आकर्षक सुविधा सहित ल्याइएका मोटरका लागि बैंकहरु पनि सस्तो ऋण उपलब्ध गराउँदै ग्राहकलाई अझ बढी सेवा दिइरहेका छन् ।

राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने जनाएका छन्।

कुन बैंकको कति ब्याज ?

१) सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ । बैंकले बेस रेटमा प्रिमियम नलिई अटो लोज उपलब्ध गराउने बताएको हो । बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ ।

२) माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यसका लागि बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ । १० वर्षसम्मका लागि बैंकले यो सुविधा दिएको हो ।

३) स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.३९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ ।

४) सानिमा बैंकले १०.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने बताएको छ । बैंकले ९.३४ प्रतिशत बेस रेटमा प्रिमियम थप गरेर लोन उपलब्ध गराउने भएको हो । बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने बताएको छ ।

५) सांग्रिला डेभ्लोप्मेन्ट बैंकले ११.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यसका लागि बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जानकारी दिएको छ ।

६) लक्ष्मी बैंकले १०.५० प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । जसका लागि ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ । बैंकका अनुसार यो ब्याजदर ३ वर्षका लागि हुनेछ । वर्षपछि बेस रेटमा २ प्रतिशत ब्याजदर थप हुनेछ । बैंकले पेट्रोल कारका लागि ११.५० प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ ।

७) नविल बैंकले इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । बैंकको बेस रेट ८.५ प्रतिशत छ । भने पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । बैंकले ७ वर्षका लागि लोन उपलब्ध गराउँदा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लिनेछ ।

८) एनआईसी एसिया बैंकले १५ वर्षका लागि सवारी कर्जा लिँदा इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदर र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदर लिनेछ । बैंकले प्रोसेसिङ चार्जका लागि ०.७५ प्रतिशत शुल्क लिनेछ ।

९) ग्लोवल बैंकले ७ वर्षका लागि लोन लिँदा ९.९९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । भने प्रोसेसिङ चार्जका रुपमा १.५ प्रतिशत शुल्क लिनेछ ।

१०) बैंक अफ काठमाडौं बैंकले ८ वर्षका लागि सवारी कर्जा लिँदा ११.४८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यसका लागि बैंकले १ प्रतिशतसम्म प्रोसेसिङ शुल्क लिने जानकारी दिएको छ । बैंकको बेस रेट ९.९८ प्रतिशत छ, त्यसमा १.५ प्रतिशत प्रिमियम लगाएर अटो लोन दिने बैंकले जनाएको छ ।

११) एभरेष्ट बैंकले ७ वर्षका लागि कर्जा लिँदा ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेका लागि ०.७५ प्रोसेसिङ शुल्क लिनेछ भने ५० लाख रुपैयाँभन्दा बढीको कर्जा लिनेका लागि ०.५० प्रतिशत शुल्क प्रोसेसिङका लागि लिनेछ । बैंकले ९.६६ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउने बताएको छ ।

१२) हिमालयन बैंकले अटो लोनका लागि नाडा अटो शोमा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । बैंकले ८ वर्षका लागि कर्जा लिँदा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लिने बताएको छ ।


पुष्प दुलाल