रविले पुडासैनी आत्महत्याबारे सार्वजनिक रुपमा बोल्न नपाउने, यस्तो छ अदालतको आदेश
काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलसँगै नर्स अस्मिता (रुकु) कार्की धरौटी र साधारण तारेखमा रिहा भएका छन् ।
सामेबार जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ, कँडेललाई ३ लाख रुपैयाँ र कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो ।
उनीहरुलाई पुडासैनीको आत्महत्याबारे सार्वजनिक रुपमा, टेलिभिजन प्रसारणबाट तथा सामाजिक सञ्जाल फेसबुक लाइभ, ट्टिटर, युट्युव तथा स्वदेशी र विदेशी सार्वजनिक सञ्चारमाध्यमबाट प्रतिक्रिया दिन अदालतले रोक लगाएको छ ।
साथै, उनीहरुलाई विदेश जान समेत अदालतको अनुमति बिना जान नपाउने आदेश दिएको छ । उपचारका लागि विदेश जानुपर्ने भएमा जिल्ला अदालतले चितवनबाट अनुमति लिनुपर्नेछ ।
आइतबारदेखि भएको ३ जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो। यो मुद्दाको कारबाही भने जिल्ला अदालत चितवनमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।
लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
पुडासैनी गत साउन २० गते चितवनको होटल कंगारूको एउटा कोठामा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
हेर्नुहोस अदालतको पूर्णपाठ