खुम्बु गाउँपालिकाले कमायो सबैभन्दा बढी रोयल्टी



काठमाडौं । प्राकृतिक स्रोतले एकाध गाउँपालिकालाई उल्लेख्य मात्रामा रोयल्टी आर्जन गर्न सक्छ भन्ने देखिएको छ । प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लाको एक गाउँपालिकाले संरक्षण क्षेत्र र हिमाल आरोहण वापत प्राप्त हुने रोयल्टीमध्ये सबैभन्दा बढी कमाएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सबैभन्दा बढी रोयल्टी प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा संरक्षित क्षेत्रबाट कुल ६७ करोड ११ लाख ५८ हजार ७८२ रुपैयाँ रोयल्टी प्राप्त भएकोमा प्रदेश र स्थानीय तहहरुलाई १७ करोड २ लाख ८९ हजार ६९५ रुपैयाँ बाँडफाँट गरिएको छ ।

आयोगका अनुसार संरक्षित क्षेत्रको बढी रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अलावा सोलु दुधकुण्ड गाउँपालिका, भरतपुर महानगरपालिका, माडी नगरपालिका र ठोरी सुर्वणपुर गाउँपालिका रहेको छ ।

सोलुखुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको रोयल्टीका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सबैभन्दा बढी रोयल्टी प्राप्त गरेको हो ।

यस्तै, पर्वतारोहरणतर्फ सबैभन्दा बढी रोयल्टी पाउनेमा खुम्बु पासाङ ल्हामु गाउँपालिकानै शीर्ष स्थानमा रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा पर्वतारोहणबाट ६७ करोड ४७ लाख ८१ हजार ८५३ रुपैयाँ रोयल्टी प्राप्त भएकोमा प्रदेश र स्थानीय तहहरुलाई १६ करोड ८६ लाख ९५ हजार ४६३ रुपैयाँ बाँडफाँट गरिएको छ ।

यस आधारमा सबैभन्दा बढी रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा संखुवासभाको मकालु गाउँपालिका सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, सोलु दुधकुण्ड गाउँपालिका र दोलखाको गौरीशंकर गाउँपालिका छ ।


क्लिकमान्डु