सुनमा पूँजीगत लाभकरको लगाउने विषयमा छलफल, भन्सार शुल्क बढाउने तयारी



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजस्वको दायरा विस्तारको लागि सुन बिक्रीमा पूँजीगत लाभकरको गृहकार्य गरेका छन् ।

लक्ष्य अनुसार राजस्व संकलन नभएको अवस्थामा अर्थमन्त्री खतिवडाले राजस्वको दायरा विस्तारको सुन बिक्री गर्दा हुने लाभमा लाभकरको गृहकार्य गरेका हुन् ।
‘दायरा विस्तारको लागि सुन बिक्रीमा लाभकर लगाउदा के होला भन्ने छलफल भएको हो,यसमा निर्णय भने भएको छैन,’अर्थमन्त्रालयल स्रोतले भन्यो ।
पछिल्लो समय नेपालमा लगानीको लागि सुन खरिद गर्ने प्रचलन समेत बढेको छ ।

सुनको मूल्य बढ्दा लाभ समेत हुने हुँदा यसमा कर लगाउनुपर्ने सोच अर्थमन्त्री खतिवडाको रहेको अर्थमन्त्रालय स्रोतको दाबी छ ।

व्यवहारिक रुपमा सुन बिक्रीमा लाभकर भने लगाउन सजिलो भने छैन ।

नेपालमा वाणिज्य बैंकलाई दैनिक १५ किलो सुन आयातको वैधानिक अनुमति छ । विदेशबाट फर्कने नेपालीले एक पटकमा १०० ग्रामसम्म सुन ल्याउन पाउँछन् ।
यस बाहेक अनौपचारिक रुपमा सुन विभिन्न माध्यमबाट भित्रने गरेको छ ।

अर्थमन्त्री खतिवडाले करको दायरा विस्तारको लागि सम्पत्तिको हक हस्तान्तरणमा कर लगाएजस्तै सुनमा समेत लाभकर लगाउने सोच बनाएका हुन् । यद्यपी व्यवहारिक रुपमा कार्यान्वयन गर्न भने जटिल भने छ ।

सुनको भन्सार बढाउने तयारी

अर्थमन्त्रालयले सुनको भन्सार शुल्क बढाउने तयारी गरेको छ । भारतको तुलनामा नेपालको भन्सार शुल्क कम भएपछि अर्थमन्त्रालयले सुनको भन्सार शुल्क बढाउने तयारी गरेको हो ।

यो पटक भारतीय लोकसभाको निर्वाचनको कारण नेपालभन्दा भारतमा ढिलो बजेट सार्वजनिक भएको थियो । जेठ १५ मा आएको बजेटले सुनको भन्सार मूल्यांकन बढाएपनि त्यसपछि भारतमा आएको बजेटले नेपालको भन्दा बढी भन्सार शुल्क लगाएको थियो । जसले गर्दा भारतमा सुन ल्याउनुभन्दा नेपालमा सुन ल्याउनु सस्तो पर्छ । दुबई,बैंकक,चीनबाट नेपालको बाटो हुँदै सुन भारत जाने गरेको छ ।

अहिले सुनको मूल्य निकै नै आकाशिएको छ । एकवर्ष अगाडि तोलामा ५६ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य अहिले ७१ हजार ३०० रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु