ओखलढुंगादेखि रामेछापसम्म २२० केभीको प्रसारण लाइन निर्माण हुँदै




काठमाडौं । ओखलढुंगादेखि रामेछापको न्यू खिम्ती सबस्टेसनसम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

ओखलढुंगा र आसपासका क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्यूत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

प्रसारण लाइन १९.१५ किमि लामो रहेको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा निर्माणाधिन लिखु ४ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ ग्रिनभेञ्चर्स लिमिटेडले प्रसारण लाइन निर्माणका लागि प्रस्ताव पेश गरेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले जनाएको छ ।

लिखु ४ जलविद्युत आयोजना ५२.४ मेगावाट क्षमताको रहेको छ । उक्त प्रसारण लाइनमा ५६ वटा टावर निर्माण गरिनेछ भने एक टावरदेखि अर्को टावरसम्मको सरदर दूरी ८६ मिटरदेखि ८२८ मिटरसम्म हुनेछ ।

टावरको औसत उचाई २३ मिटर हुनेछ । प्रसारण लाइन निर्माण गर्न ५३.४९ हेक्टर जग्गा स्थायी तथा अस्थायीरुपमा अधिग्रहण गरिनेछ । त्यस्तै, प्रसारण लाइनको मध्यविन्दुबाट १५/१५ मिटर दाँयावाँया राइट अफ वे तय गरिनेछ ।

सो प्रसारण लाइन आगामी ११ महिनाभित्र सम्पन्न गरिनेछ भने भूक्ष्य, बाढी, वायू प्रदुषणआदिद्वारा वातावरणमा प्रतिकुल असर नपर्ने गरी निर्माण गर्ने तयारी ग्रिनभेञ्चर्सले गरेको छ ।

सो प्रसारण लाइन सम्बन्धि कुनै थप सूचना भए वा कुनै जानकारी दिनुपर्ने भए उपलब्ध गराउन सम्बन्धित प्रबद्र्धक कम्पनी र विद्युत विकास विभागले आग्रह गरेको छ ।


क्लिकमान्डु