नलगाड जलविद्युत आयोजनामा लगानी गर्न जापान सरकारले चासो देखायो




काठमाडौं । जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत आयोजनामा लगानी गर्न जापान सरकारले चासो देखाएको छ ।

कुल ४१० मेगावाट क्षमताको सो आयोजनामा जापान सरकारले सार्वजनिक निजी साझेदारी अवधारण अनुसार लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

उर्जा जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनसँग  नेपालका लागि जापानी राजदूत मासामिकी साइगोले बुधबार गरेको भेटवार्ताका क्रममा सो चासो व्यक्त गरेका हुन् ।

जापान सरकारको सहयोगमा कुलेखानी जलविद्युत आयोजना, तनहुँ सेती जस्ता आयोजनाहरु निर्माण भएको प्रसंग जोड्दै राजदूतले क्षेत्रीय सन्तुलनका लागि समेत नलगाड आयोजनामा लगानीका लागि आफूहरु इच्छुक रहेको बताएका हुन ।

सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेको छ ।

आयोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सो आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामार्फत लगानी गर्ने विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री पुनले नेपालको भौतिक पूर्वाधार, उर्जा लगायतका क्षेत्रमा जापान सरकारको सहयोगको उच्च प्रसंशा गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गरेका थिए ।


क्लिकमान्डु