व्यापार घाटा घटाउन गर्नुपर्ने यी हुन् ऊर्जा क्षेत्रका ८ काम



काठमाडौं ।  आर्थिक वर्ष २०७५/७५ मा १३ खर्ब २१ अर्ब बराबरको व्यापार घाटा भएको छ । वर्षेनी व्यापार घाटा घट्दै जाँदा त्यसलाई न्यूनीकरण गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४ वर्षे कार्ययोजना तयार पारेको छ ।

उक्त कार्ययोजनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, कृषि तथा पशुपंषी मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले के कस्ता काम गर्ने भन्ने समेत तय गरेको छ ।

त्यसमा व्यापार घाटा घटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम तथा कार्ययोजनाका बारेमा समेत स्पष्ट व्यवस्था गरिएको छ । उद्योग जाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित छलफलमा सो मन्त्रालयले औद्योगिक क्षेत्र, औद्योगिक करिडोर, उद्योग, व्यापार र सेवाका सबै क्षेत्रमा निरन्तर र भरपर्दो रुपमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोृड दिइएको छ ।

विद्युत् उत्पादन वृद्धिसँगै पेट्रोलियम पदार्थको प्रयोगलाई विद्युत्बाट प्रतिस्थापन गर्ने, विद्युत्बाट सञ्चालित विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेशन स्थापना गर्ने, जलविद्युत् क्षेत्रमा कार्यान्वयन भइरहेको श्वेतपत्र कार्यान्वयन गर्ने विषय समेटिएको छ । आगामी २ वर्षभित्र काठमाडौँ उपत्यकालगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने विषय समेटिएको छ ।

कृषि र उद्योगमा उपयोग भइरहेको पेट्रोलियम पदार्थमा आधारित उपकरणलाई विद्युतीय उपकरणले प्रतिस्थापन गर्ने, धेरै कोइला खपत गर्ने उद्योगमा विद्युतीय प्रणाली उपयोगलाई प्रोत्साहित गर्ने, बढी विद्युत् खपतका उपकरण आयात नियन्त्रण रकम विद्युत् खपतका उपकरणको प्रोत्साहन गर्ने र नविकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई बढावा दिई व्यापार घाटा घटाउने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु