भवानी राणासँग उपाध्यक्षमा चुनाव हारेका निरक केसी महासंघको कोषाध्यक्षमा निर्विरोध निर्वाचित



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतका केसी महासंघमा २८ वर्षदेखि सक्रिय छन् । उनी अहिले महासंघको कार्यकारिणी सदस्य थिए ।

महासंघको शुक्रबार बसेको १३ औं कार्यकारिणी समितिको बैठकले केसीलाई निर्विरोध निर्वाचित गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘निरकजीलाई महासंघको कार्यकारीणी बैठकले कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन् ।

महासंघको अहिलेको विधानमा कोषाध्यक्षको चयन कार्यकारिणी सदस्यबाट गर्ने व्यवस्था छ । कोषाध्यक्षमा केसीको मात्र उम्मेद्वारी परेको थियो ।

महासंघको कोषाध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्रलाल प्रधानले माघ १३ गते राजिनामा दिएका थिए । प्रधानले कृषि उद्यम केन्द्रको भ्रष्टाचारको विषय उठाउँदै राजिनामा दिएका थिए ।

ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?

प्रधानले पत्रकारलाई दिएको कृषि उद्यम केन्द्रको भ्रष्टाचार सम्बन्धी सूचनाको गोप्य अडियो अध्यक्ष राणाले महासंघको बैठकमा सुनाएपछि उनले नैतिकताको आधारमा राजिनामा गरेका थिए ।

महासंघको कोषाध्यक्षमा निर्वाचित केसी सुरज वैद्य अध्यक्षमा निर्वाचित हुँदा भवानी राणासँग जिल्ला तथा नगर उपाध्यक्षमा पराजित भएका थिए ।
त्यो बेला भवानी राणा सुरज वैद्य प्यानलबाट र केसी आजाद श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा चुनाव उठेका थिए ।


पुष्प दुलाल