ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पत्रकारको बेइमानीका कारण आफूले पदबाट राजिनामा दिनुपरेको बताएका छन् ।

आइतबार साँझ बसेको महासंघको कार्यकारीणी बैठकमा कोषाध्यक्ष प्रधानले राजिनामा दिएका हुन् ।

‘मैले पदबाट राजिनामा दिएँको हुँ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘पत्रकारले बेइमानी गरेपछि मलाई समस्या पर्यो ।’

प्रधानले महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्दै पत्रकारहरुलाई सूचना दिएको रहस्य खुलेपछि उनी राजिनामा दिन बाध्य भएका हुन् ।

‘केही पत्रकारसँग मैले अनौपचारिकरुपमा कृषि उद्यम केन्द्रको खाता पारदर्शी छैन, अनियमिता र कमीकमजोरीहरु छन् भनेर गफ गरेको थिएँ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘तर, पत्रकारले साथीहरुले रेकर्ड गर्नुभएको रहेछ । व्यावसायिक मर्यादा विर्सिएर अर्को पक्षलाई त्यो रेकर्ड दिनुभएछ ।’

महासंघको आज बसेको बैठकमा अध्यक्ष भवानी राणाले प्रधानले पत्रकारलाई दिएको सूचनाको रेकर्ड नै सुनाइन् । त्यसपछि उनले राजिनामा दिएका हुन् ।

कृषि उद्यम केन्द्रले सरकारबाट पैसा लिन्छ । र, उक्त केन्द्रमा अनियमितता भएको भन्दै केही अनलाइ सञ्चारमाध्यमले समाचार लेखिरहेका छन् । मिडियामा समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गर्ने भन्दै पत्र काटेको छ ।

कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयमा महासंघत्रि चर्को विवाद भएको थियो ।

‘पत्रकार र अख्तियारलाई मैले सूचना दिएको आरोप लगाइयो, उहाँहरु मिडियाबाजी भो भन्दै डराउनु भयो,’ प्रधाले भने, ‘राम्रो काम गरेको भए त डराउनै पर्दैन थियो नि ।’

आफूले कृषि उद्यम केन्द्रलाई पारदर्शी र अनियमितताबिहीन बनाउन प्रयास गरेको उनले जानकारी दिए ।

‘अमेरिकन संस्थाले दिएको पैसा बिल कर्मचारीले बनाएर खाएका छन्, केन्द्रको पैसामा पदाधिकारीहरु हेलिकप्टर चढेर भ्रमण गर्न गएका छन्, यो अनियमितता हो, रोकौं भन्दा मलाई राजिनामा गर्न बाध्य बनाइयो,’ प्रधानले भने ।

पत्रकारितामा व्यावसायिक मर्यादा र स्रोत प्रतिको इमानदारीता हुनु पर्नेमा उनले जोड दिए ।

‘मेरा लागि यो एउटा पाठ हो, यो घटनाले मलाई धेरै कुरा सिकायो,’ प्रधानले भने ।

त्यसरी अडियो रेकर्ड गरेर विपक्षीलाई दिने पत्रकार को रहेछ ? उजागर गरिदिनुहोस् न भन्ने क्लिकमाण्डूको प्रश्नमा प्रधानले यस्तो जवाफ दिए, ‘समय आएपछि भनौंला । अफ दि रेकर्ड भन्छु । तर तपाईंले बदमासी गर्दिन भनेर कसम खानुपर्छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारले समाचारको स्रोतको रक्षा गर्नुपर्ने बताए ।

‘स्रोतले दिएको सूचना आफूले प्रयोग गर्न मिल्छ तर अरुलाई उपलब्ध गराउनू भनेको आचारसंहिता विपरित तथा अव्यवसायिक काम हो, गंभीर धोका हो,’ अध्यक्ष आचार्यले भने, ‘यसले पत्रकारिता पेशालाई नै विश्वसनिय बनाउँदैन ।यसरी पत्रकारहरुले एक व्यक्तिले दिएको सूचना रेकर्ड नै गरेर विपक्षीकहाँ सुनाउँछन् भने भोलि कुन व्यक्तिले चाहीँ पत्रकारलाई सूचना दिन्छ ?’


पुष्प दुलाल