टाइगर प्यालेस बिक्री रोक्का गर्न अदालतको आदेश, के गर्लान् इन्द्रबहादुर थापाले ?



काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट बिक्रीका लागि मलेसियास्थित गैर आवासीय नेपाली इन्द्रबहादुर थापाले चासो देखाएका थिए ।

कुल ३३.९ मिलियन अमेरिकी डलरमा खरिद गर्नका लागि थापाले सिंगापुरस्थित इस्क्रो अकाउन्टमा ३ मिलियन डलर रकम समेत जम्मा गरिसकेका छन् ।

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

तर यता रिसोर्टले १० कठ्ठा १८ धुर जग्गा मिचेको मुद्धामा आदेश दिँदै रुपन्देही जिल्ला अदालतले बिक्रीको प्रक्रिया रोक्न आदेश दिएको छ ।

अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम प्रतिवादीको नाममा दर्ता रहेको जग्गा, भवन, संरचना र सेयर यथास्थितीमा राख्नु भनी आदेश दिएको छ ।

जसले गर्दा होटल बिक्रीको प्रक्रिया स्थगित भएको छ ।

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

सिल्भर हेरिटेज र टाइगर वान प्रालिको नाममा साविकको टिकुलीगढ- ९ ‘घ’ अन्तर्गतका ३८ वटा कित्ता र साविकको मधवलिया–५ ‘ख’ अन्तर्गतका तीन वटा कित्ताको जग्गामा निर्माण भएका संरचना हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा राख्न अदालतले आदेश दिएको छ ।

होटलले कित्ता नम्बर १२०, १४८, १५२, १९० र ७३ को जग्गा मिचेर संरचना बनाएको छ ।

नलकुप जल उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरेले अदालतमा मुद्दा दायर गरेका थिए । होटलले सार्वजनिक जग्गा मिचेर स्वीमिङ पुल र क्यासिनो बनाएको छ ।

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

यता सिल्भर हेरिटेजले भने सूचना जारी गर्दै रिसोर्टले मिचेको जग्गा बाहेक बाँकी रहेको जग्गा बिक्रीका लागि कुनै समस्या नभएको दाबी गरेको छ ।

अदालतले नै बिक्रीका लागि रोक लगाएपछि थापाले होटल खरिद गर्ने विषय अन्योलमा पुगेको छ ।

थापाले टाइगर प्यालेस रिसोर्ट बाहेक भैरहवामा निर्माणधिन अर्को होटल गौतम बुद्ध एयरपोर्ट होटल खरिदका लागि पनि चासो देखाएका छन् ।

यसका लागि उनले ७२ लाखको चेक पनि सञ्चालक डा. शिवभक्त पोखरेललाई दिइसकेका छन् । तर उनले दिएको उक्त चेक बाउन्स भएको पोखरेलले बताए ।


पुष्प दुलाल