नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता



काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा पुगेको देखिन्छ ।

३ करोड २९ लाख अमेरिकी डलर तोकिएको होटलको मूल्य तिर्नका लागि थापा तयार भएपछि होटल मालिकले सम्पत्तिको स्रोत खोजेका थिए । थापाले २० अर्बको सम्पत्तिको स्रोत देखाएका थिए ।

गत जुलाई ३१ मा होटलले कन्डिसनल लेटर र बाइन्डिङ लेटर समेत प्राप्त गरेको जनाइसकेको छ । जस अन्तर्गत थापाले होटलमा २० मिलियन अमेरिकी डलर नगद बुझाउनुपर्ने छ । भने बाँकी १३.९ मिलियन अमेरिकी डलर विभिन्न नेपाली बैंकहरुबाट लिइएको कर्जामा रुपान्तरण गरिनेछ ।

यसका लागि थापाले ३ मिलियन अमेरिकी डलर १५ अगष्टभित्र बुझाइसक्नुपर्नेछ । त्यसपछि थप ३० दिनका लागि डीडीएको लागि समय दिइनेछ ।

सिल्भर हेरिटेजले भनेको छ, ‘राम्रोसँग अध्ययन र अनुसन्धान गरेपछि बोर्डले खरिदकर्तालाई डीडीए गर्नका लागि अनुमति दिएको छ, यसका लागि आवश्यक कागजात उपलब्ध गराइने छ ।’

त्यस्तै, सिल्भर हेरिटेज ग्रुपले थापालाई सम्पूर्ण रकम भुक्तानीका लागि ९० दिनसम्मको समय उपलब्ध गराउनेछ ।

मलेसियामा बस्ने थापा प्रवासी नेपाली हुन । उनी त्यहाँ रहने नेपालीहरुमा सबैभन्दा धनी प्रवासी नेपाली हुन । थापा नेपाली मुलका मलेसियन नागरिक हुन् । टाइगर प्यालेस खरिद गर्न नेपालका विभिन्न व्यवसायिक घरानाले चासो देखाएका थिए । तर,थापाले यो डिलमा बाजी मारेका छन् ।

होटलमा प्रत्येक महिना १५ हजारभन्दा बढी ग्राहकहरु आउँछन । जुन नेपाली होटल तथा रिसोर्टको तुलनामा सबैभन्दा बढी हो ।

होटलमा १०० रुम छन भने यो दक्षिण एसियाको पहिलो इन्टिग्रेटेड फाइभ स्टार क्यासिनो रिसोर्ट समेत हो । सन् २०१७ मा पर्यटन विभागद्वारा पाँच तारे होटलको मान्यता पाएको टाइगल प्यालेसमा विशेष गरी भारतीय पर्यटक र लुम्बिनी जाने बौद्य धर्मालम्बीहरुका ग्राहकहरु जाने गरेका छन् ।

१५ विघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २ वटा भिल्ला, जीम, स्पा, स्वीमिङ पुल, रेष्टुराँ र मिटिङ रुमसँगै बेन्क्युट पनि छ ।


क्लिकमान्डु