पर्यटनमन्त्रीले भट्टराईले अमेरिकी राजदूतलाई भने- ट्विटरमा नेपाल भ्रमण वर्षको लोगो राखिदिनुस



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो ट्विटरमा राखिदिन आग्रह गरेका छन् ।

नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सामाजिक सञ्जाल महत्वपूर्ण हुने र त्यसमा पनि रादजूतहरुको भूमिका महत्वपूर्ण हुने भन्दै बुधबारको भेटमा उनले यस्तो आग्रह गरेका हुन ।

बुधबार अमेरिका, यूरोपियन यूनियन, बेलायत, जापान र श्रीलंका गरी ५ राजदूतसँगको भेटमा भट्टराईले पर्यटन वर्षलाई सफल बनाउनका लागि सहयोग मागेका थिए ।

भट्टराईले भने, ‘उहाँ (राजदूत र्यान्डी बेरी) ट्विटरमा निकै सक्रिय हुनुहुन्छ, मैले उहाँलाई लोगो राखिदिनुस भनेको छु, मलाई लाग्छ त्यो करोडौंको विज्ञापनभन्दा ठूलो कुरा हो ।’

प्रतिउत्तरमा राजदूत बेरीले स्वीकार गरेर गएको भट्टराईले बताए ।

राजदूत बेरी सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय छन् । राजदूत भएर आएयता नेपालीहरुसँग ट्विटरबाट अन्तरक्रिया समेत गर्दछन् ।

उनको ट्विटर अकाउन्टमा १ लाख ६८ हजार ५०० भन्दा बढी फलोअर्स छन् ।


क्लिकमान्डु