गौतम बुद्ध विमानस्थललाई डेडिकेडेट प्रसारण लाइन



काठमाडौं । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउन उर्जा सिँचाई तथा जलस्रोत मन्त्रालयले आवश्यक सहयोग गर्ने भएको छ ।

विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन जरुरी भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आग्रह गरेपछि उर्जाले त्यसका लागि आवश्यक पहल गर्ने भएको हो ।

आइतबार दुबै मन्त्रालय, सडक विभाग, नेपाल विद्युत प्राधिकरण र नागरिक उड्ययन प्राधिकरणका उच्च अधिकारी सम्मिलित बैठक आयोजना गरिएको थियो ।

सो बैठकमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि विद्युत सेवा उपलब्ध गराउन उर्जाले अन्तरसरकारी निकायबीचको सम्वन्यका आधारमा प्रक्रिया अगाडि बढाउने जानकारी गराएको हो ।

उक्त विषयमा सम्बन्धित सरोकारवाला सरकारी निकायले आवश्यक कार्ययोजना बनाइ लागू गर्ने र तत्कालै काम सुरु गर्ने सहमति समेत भएको छ ।

छलफलमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट प्रसारण लाइन निर्माणका लागि काम सुरु गर्ने, सडक विभागले पनि आफ्नो कामलाई गती दिने र नागरिक उड्ययन प्राधिकरणले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी केही समयभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको बेला यस्तो सहमतिले थप सहजता ल्याउने विश्वास गरिएको छ ।

छलफलमा उर्जामन्त्री वर्षमान पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिएका थिए ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणका क्रममा देखिएका समस्या र विद्युत सेवा लगायतका विषयमा स्थलगत निरिक्षणका क्रममा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

तीन वटा मन्त्रालय र सम्बन्धि विभागले आ–आफ्नो जिम्मेवारी पूरा गरी विमानस्थललाई थप सहज बनाउने र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।


क्लिकमान्डु