टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने



काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् ।

भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका हुन् । त्यसका लागि थापाले चेकमार्फत ७२ लाख रुपैयाँको बैना समेत दिइसकेका छन् ।

होटलका सञ्चालक डा. शिवभक्त पोखरेलले बैनावापतको ७२ लाख रुपैयाँको चेक बुझिसकेको तर चेक बाउन्स भएको क्लिकमाण्डूलाई जानकारी दिए ।

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

पोखरेलका अनुसार थापाले आफ्नो रकम नेपाल ल्याउनका लागि अहिले झमेला भएकाले चेक बाउन्स भएको बताएका थिए । थापाले आफू नेपाल आइसकेपछि चेक साटिने भन्दै आश्वासन दिएको उनले बताए ।

पोखरेलका अनुसार थापाले नेपाल आएका बेलामा पोखरेललाई उक्त रकम बराबरको चेक दिएका हुन् ।

राष्ट्र बैंकका पूर्वकर्मचारी समेत रहेका पोखरेल डेढ वर्ष अगाडि राष्ट्र बैंकबाट राजीनामा दिएर व्यवसायमा लागेका थिए । राष्ट्रबैंकमा २० वर्ष काम गरेपछि उनी राजीनामा बुझाएर भैरहवामा होटल खोल्न गएका थिए ।

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

७ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न होटल निर्माणका लागि उनी भैरहवामा गएका थिए । तर निर्माणकै क्रममा आर्थिक संकट आएपछि उनले होटल सञ्चालनका लागि पार्टनर खोजेका थिए ।

यसैक्रममा पोखरेलले थापालाई भेटेका थिए । झण्डै ४ महिनाअघि भेटिएका थापालाई उनकै साथीले पोखरेललाई चिनाएका थिए ।

होटल सञ्चालनका लागि पार्टनर खोजिरहेका पोखरेललाई थापा भेटिँदा खुसी भएका थिए । तर थापाले आफू पार्टनर नबन्ने बरु सबै होटल नै खरिद गर्ने भन्ने प्रस्ताव राखेका थिए ।

र, पोखरेलले थापालाई होटल बिक्री गर्न राजी भएका थिए ।

थापा मलेसियाका व्यवसायी हुन । संखुवासभा घर भएका थापाका बच्चादेखिका साथी इन्जिनियर शंकर गिरीले पोखरेललाई थापासँग भेट गराएका थिए । भक्तपुरको ठिमी घर भएका पोखरेल व्यवसायका सिलसिलामा भैरहवा पुगेका थिए । उनले  केही महिना अगाडि होटल एक्सप्लोर बुद्ध प्रालि सञ्चालन गर्न नसकेपछि बन्द गरेका थिए ।


क्लिकमान्डु