जनताको जलविद्युत कार्यक्रम- २२० मेगावाट क्षमताका ३ आयोजनाको आइपीओ बिक्री गरिने




काठमाडौं । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ३ जलविद्युत आयोजनाको साधारण सेयर बिक्री गर्ने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्षका लागि तयार पारेको कार्ययोजनामा सो विषय समावेश गरिएको हो ।

मन्त्रालयका अनुसार निकट भविष्यमै साधारण सेयर बिक्री गर्ने तयारी गरिएका आयोजनामा तामाकोसी पाँचौ, भेरी–बबई डाइभर्सन आयोजना र घुन्सा खोला जलविद्युत आयोजना छन् ।

ती आयोजनामध्ये तामाकोसी पाँचौ १०० मेगावाट क्षमताको हो भने भेरी–बबई ४८ मेगावाट र घुन्सा खोला ७२ मेगावाट क्षमताको हो ।

तामाकोसी पाँचौलाई नेपाल विद्युत प्राधिकरणले कम्पनी मोडलमा अगाडि बढाउने भन्दै कम्पनीसमेत स्थापना गरिसकेको छ । आयोजनामा चिनियाँ लगानीको पूर्वाधार लगानी बैंकले करिब १६ अर्ब लगानी गर्ने जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड परियोजनाको रुपमा अगाडि बढाउन लागिएको हो । सो आयोजनामा बाँध निर्माण गर्नुपर्ने छैन भने कुल ८.१ किलोमिटर लामो सुरुङ निर्माण गर्दा हुनेछ ।

आयोजनामा आफूहरुको लगानी हुनुपर्ने र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले नै निर्माण गर्न पाउनुपर्ने भन्दै कर्मचारी सञ्चय कोषले सरकारसँग आग्रह गर्दैै आएको छ ।

सो आयोजनाको साधारण सेयर बिक्री गर्ने र निर्माण कार्य समेत सुरु गर्ने तयारीमा सरकार छ । यस्तै, बैदेशिक रोजगारीमा गएका नेपालीहरुको कमाईलाई सुरक्षित र संस्थागत गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको रेमिट हाइड्रो अन्तर्गतको घुन्सा खोला जलविद्युत आयोजनाको समेत चालु आवमै साधारण सेयर बिक्री गर्ने तयारी छ ।

सो आयोजनालाई हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलोप्मेन्ट कम्पनी (एचआईडीएल)को ५१ प्रतिशत, आम नेपालीको १५ प्रशित, बिदेशमा काम गर्न गएका नेपालीको २१ प्रतिशत र स्थानीयबासीको १० प्रतिशत सेयर संरचना रहने गरी आवश्यक तयारी गरिएको छ ।

यस्तै, कुल १२.२ किलोमिटर लामो सुरुङ निर्माण भइसकेको भेरी–बबई डाइभर्सन आयोजना अन्तर्गत निर्माण हुने ४८ मेगावाट क्षमताको आयोजनाको समेत साधारण सेयर बिक्री गरिनेछ ।

सो आयोजनाको विद्युतगृह र बाँध निर्माणका लागि कालोसूचीमा परेको रमण जेवी कन्स्ट्रक्ससँगै एक चिनियाँ कम्पनीले ठेक्का पाइसकेको छ ।

कुल ६ अर्ब १२ करोड रुपैयाँमा ठेक्का लिएको सो कम्पनीले बाँध र विद्युतगृह निर्माण गर्नेछ । सो आयोजनाको समेत चालु आवमै साधारण सेयर बिक्री गर्ने तयारी छ ।

सरकारले गत आवमा माथिल्ले त्रिशुली थ्रि बी, रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण सेयर बिक्री गरेको थियो ।


क्लिकमान्डु