धरहरा बनाउने कम्पनी कालोसूचीमा, अन्य कुन कम्पनी परे ?



काठमाडौं । भूकम्पले ध्वस्त पारेको काठमाडौंको धरहराको पुर्ननिर्माण गरिरहेको रमण कन्स्ट्रक्सन प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले हुलाकी सडक निर्माणमा बदमासी गरेको भन्दै कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी रमण कन्स्ट्रक्सन र पप्पू कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र मन्त्रालयको सडक विभाग हुलाकी सडक निर्देशनालयले कालोसूचीमा राख्न भनि गत असार २० गते यस कार्यालयलाई लेखि आएको र असार १२ र १७ गते को निर्णयहरु यथास्थितीमा राख्नु भनि सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।

साथै, यही साउन १५ गते गत असार २३ गते भएको अन्तरकालिन आदेशलाई निरन्तरता दिनु नपर्ने भनि सर्वोच्चले आदेश जारी गरेकाले उनीहरुलाई सार्वजनिक खरिदको जिम्मेवारी दिँदा प्रतिकुल प्रभाव पार्न सक्ने देखिएकाले उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

रमण कन्स्ट्रक्सनले केही दिन पहिले मात्रै भेरी बई डाइभर्सन र मेलम्ची खानेपानी आयोजनाको समेत ठेक्का पाउने अवस्थामा छ ।महत्वपूर्ण ठेक्का पाउने अवस्थामा रहेको रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएपछि ती ठेक्का के हुने भन्ने आशंका पैदा भएको छ । रमणले धरहराका साथै बिराटनगरमा रेलवे लाइनको निर्माण समेत गरिरहेको छ ।

यस्तै, उर्जा जलस्रोत तथा सिँचाई मातहतको धापडाँडा जलाशयको निर्माण समेत गरिरहेको छ । बागमतीमा पानीको सतह बढाउने भन्दै सुरु गरिएको सो आयोजना समेत पूरा भएको छैन् ।


क्लिकमान्डु