राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वर्गिकरण गर्ने, कस्ता बैंक प्रणालीगत महत्वपूर्ण ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पनि वर्गिकरण गर्ने भएको छ । प्रणालीगतरुपमा महत्वपूर्ण बैंक र प्रणालीगतरुपमा महत्व नभएका बैंक भनेर राष्ट्र बैंकले बैंकहरुको वर्गिकरण गर्ने भएको हो ।

‘प्रणालीगतरुपमा महत्वपूर्ण बैंकको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै व्यवस्था गरिने छ,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले सार्वजानिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा उल्लेख छ ।

प्रणालीगतरुपमा महत्वपूर्ण बैंक भनेको के हो ? हामीले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कायममुकायम कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सोधेका थियौं ।

‘प्रणालीगतरुपमा महत्वपूर्ण बैंक हुनका लागि अन्तर्राष्ट्रियरुपमै मापदण्ड छ, हामी सोही मापदण्डअनुसार त्यस्ता संस्था पहिचान गरेर छुट्टै नियमन गर्छौं,’ मिश्रले क्लिकमाण्डूसँग भने ।

प्रणालीगतरुपमा महत्वपूर्ण बैंकका लागि आधा दर्जनजति मापदण्ड हुने उनको भनाई छ ।

‘कुनै बैंक समग्र वित्तीय प्रणालीका लागि कति महत्वपूर्ण छ भनेर हेनुपर्छ, कुनै बैंक डुब्यो भने देशको वित्तीय प्रणालीनै डुब्ने खतरा हुन्छ भने त्यो बैंक प्रणालीगत महत्वपूर्ण बैंक हो, त्यस्ता बैंकलाई राष्ट्र बैंकले विशेष नियमन गर्नुपर्छ,’ उनले भने ।

कारोबारका लागि विदेशीहरुले पत्याउने बैंक, अत्याधिक धेरै निक्षेप तथा कर्जा संकलन गरेको बैंक, ग्राहक संख्या अत्याधिक भएको बैंक, जनताको अत्याधिक बढी विश्वास जितेको बैंक, कम्प्लाइन्सलाई अक्षरश पालना गर्ने उदाहारणीय बैंकलाई प्रणालीगतरुपमा महत्वपूर्ण बैंक भनिने मिश्रको भनाई छ ।

‘अहिले नेपालमा २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन्, जसमध्ये सबै बैंक प्रणालीगतरुपमा महत्वपूर्ण छैनन्,’ उनले भने, ‘प्रणालीगतरुपमा महत्वपूर्ण बैंक छानेर प्रणालीका लागि कम महत्व भएका बैंकलाई ती बैंकसँग मर्जर गराउन सकियो भने वित्तीय क्षेत्र सबल हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

राष्ट्र बैंकले १२/१५ वटा बैंकलाई प्रणालीगत महत्वका बैंकको रुपमा ब्याख्या गरेर अघि बढ्ने भएको छ । उदाहारणका लागि स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक, इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लगायतका बैंकहरु प्रणालीगतरुपमा महत्वपूर्ण बैंकको सूचिमा पर्छन् ।


पुष्प दुलाल