अनिल शाह भन्छन्- फोर्स मर्जरको नीति नल्याएर राष्ट्र बैंकले ठीक गर्यो



काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले फोर्स मर्जरको नीति नआउनु नै मौद्रिक नीतिको सुन्दर पक्ष भएको बताएका छन् ।

‘पछिल्लो समयका क्रियाकलापले कतै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत् फार्स मर्जरमा जाँदैछ कि भन्ने आशंका थियो, तर त्यो भएन,’ शाहले क्लिकमाण्डूसँग भने, ‘फोर्स मर्जरको नीति नआउनु नै मौद्रिक नीतिको सुन्दर पक्ष हो ।’

मौद्रिक नीति आफूलाई धेरै सकरात्मक लागेको उनको भनाई छ ।

‘बिग मर्जर गरेन भयो यस्तो दण्ड गर्छौं नभनीकन मर्जरमा जानेलाई प्रोत्साहन गर्छौं भन्नुभएको छ, यो धेरै सकरात्मक कुरा हो,’ शाहले भने ।

मर्जरमा जानेलाई स्प्रेडदरमा केही सहुलियत दिने, शाखा खोल्न दिने, उर्जा, पर्यटन र कृषि क्षेत्रमा तोकिएको लगानी प्रवाह गर्न नसक्दा हर्जना ब्याज लगाउँदैनौं भन्नु सकरात्मक भएको उनको भनाई छ ।

‘जसलाई मर्जर आवश्यक छ र मर्जरमा जान चाहेका छन् उनीहरुका लागि यो ठूलो राहत हो,’ उनले भने, ‘फोर्स मर्ज गरेको भए त्यसको प्रतिफल राम्रो हुँदैन थियो । स्वेच्छिक मर्जरको प्रतिफल राम्रो आउँछ ।’

कुनै बैंक मर्जरमा जान खोजिरहेको भए उसका लागि यो ठूलो अवसर भएको शाहको भनाई छ ।

‘म जुन बैंकमा छु, मेरो बैंकले मर्जरमा जान खोजिरहेको भए यो ठूलो अबसर हो , अब चाहीँ मर्जरमा जाऔं न भनेर प्रोत्साहित हुने अबसर हो,’ उनले भने, ‘मर्जरमा जान नचाहने बैंकलाई फोर्स मर्ज गराउने भनिएको छैन । सबैभन्दा सुन्दर पक्ष नै यही हो ।’

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीतिअघि मर्जरको प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए ।

शाह सीइओ भएको नविल बैंकले राष्ट्र बैंकमा मर्जरको प्रतिवद्धता बुझाएको छैन । नविल बैंकले मर्जरमा नजाने रणनीति लिएको छ ।

तर, २८ वाणिज्य बैंकमध्ये २३ वटाले राष्ट्र बैंक समक्ष मर्जरको प्रतिवद्धता तथा आफ्नो धारणा बुझाएका थिए ।


पुष्प दुलाल