चन्द्र ढकाल भन्छन्- बिग मर्जरलाई सोचेजस्तो सहुलियत आएन



काठमाडौं । नेपाल उद्योग वाणिज्य माहसंघका उपाध्यक्ष तथा ग्लोब आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिमा बिग मर्जरका लागि सोचेजस्तो सहुलियत नआएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सुनिसकेपछि ढकालले यस्तो प्रतिक्रिया दिए ।

‘सरकारले बजेटमा नै वाणिज्य बैंकहरुबीचको मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेपछि मौद्रिक नीतिमा जुन हिसाबले बिग मर्जरलाई प्रोत्साहत आउँछ भन्ने लागेको थियो, त्यो आएन,’ ढकालले भने ।

मौद्रिक नीतिले कम्पोलसरी मर्जर गराउँछ कि भन्ने आफूलाई लागेको तर स्वतस्फूर्त मर्जरमा जानका लागि केही सहुलियत दिएको उनको भनाई छ ।

‘कम्पोलसरी मर्जरको व्यवस्था आउँछ कि भन्ने लागेको थियो तर केही प्रोत्साहन दिएर स्वतस्फूर्त मर्जरलाई प्रोत्साहन गरिएको छ,’ ढकालले भने ।

बैंक तथा वित्तीय संस्था मर्ज गर्नु भनेको आफैंमा संस्थाहरु बलियो हुनु भएको उनको भनाई छ ।

‘संस्था ठूलो भएपनि जोखिम बहन गर्नसक्ने क्षमता पनि बढी हुन्छ, मौद्रिक नीतिमा आए पनि नआए पनि बैंक बलियो भयो भने उसको लगानी गर्ने र जोखिम बहन गर्ने क्षमता बढ्छ । र, सानातिना समस्या आउँदा बैंक संकटमा पर्दैन ।’ ढकालले भने ।

यद्यपि स्प्रेड र कुलिङ पिरियडमा केही सहुलियत दिनु सकरात्मक भएको उनको भनाई छ ।

‘वाणिज्य बैंकहरुको मर्जरको कुरामा केही हदसम्म इन्करेज गरेको देखिन्छ । तर, जुन हिसाबले सहुलियत आउनु पर्ने हो त्यो देखिएन ।’ उनले भने ।

बजेटमा मर्जरको बारेमा उल्लेख भएपछि र गत असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीतिअघि नै मर्जरमा जान बैंकका अध्यक्ष र सीइओलाई निर्देशन दिएपछि ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने समझदारी भइसकेको छ ।

यसअघि पनि धेरैवटा संस्था मर्ज गरिसकेको ग्लोबलले यस पटक बिग मर्जरको शुरुवात गरेको थियो ।


पुष्प दुलाल