चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई ७ दिने स्पष्टिकरण, चित्त नबुझे कारोबारमा रोक लगाउने



काठमाडौं । चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले ७ दिने स्पष्टिकरण सोधेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

बीमा समितिले ७ वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनी लाई स्पष्टिकरण सोधेको हो ।

बीमा समितिले असार मसान्तसम्ममा तोकिएको चुक्ता पूँजी पुर्याउने समय दिएको थियो ।

गतवर्षदेखि नै एनएफआरएस प्रणाली लागु भएको हुँदा धेरैवटा बीमा कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणसभा गर्न सकेका छैनन् ।

बीमा समितिका अनुसार चुक्ता पूँजी नपुर्याउने निर्जीवन बीमा कम्पनीमा युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी,राष्ट्रिय बीमा कम्पनी छन् ।

यस्तै विदेशी कम्पनीको शाखाको रुपमा काम गरेका नेशनल र ओरियन्टलले चुक्ता पूँजी पुर्याएका छैनन् ।

जीवन बीमा कम्पनीमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान,सुर्या लाइफ,गुँरास लाइफ,प्राइम लाइफ छन् । विदेशी कम्पनीको शाखाको रुपमा रहेको मेट लाइफको समेत चुक्ता पूँजी पुगेको छैन ।

विदेशी कम्पनीको शाखाको रुपमा रहेका कम्पनीले त्यो अनुसार पूँजी पुर्याउनुपर्छ ।

बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई नियम अनुसारको कारबाही हुने बताए ।


पुष्प दुलाल