कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण बुझाउने व्यवसायीका दिन गए, राजस्वले बैंकका सीइओ बोलायो (पत्रसहित)



काठमाडौं । कर कार्यालयमा एउटा र बैंकमा अर्को वित्तीय विवरण पठाउने प्रवृत्ति अन्त्य गर्नका लागि आन्तरिक राजस्व विभागले तयारी पूरा गरेको छ ।

व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै गत आर्थिक वर्षको बजेटमा एउटै विवरण बुझाउनुपर्ने व्यवस्था गर्ने भनिएको थियो ।

बजेटको उक्त व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले साउन ६ गते दिउँसो बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएको हो ।

विभागले आज राष्ट्र बैंकलाई पत्र पठाउँदै भोलि दिउँसो साढे २ बजे आन्त्रिक राजस्व विभागको सभाहलमा सबै बैंकका सीइओलाई उपस्थित गराउन भनेको हो ।

विभागले पत्र पठाएपछि राष्ट्र बैंकले उक्त पत्र सबै बैंकका सीइओलाई पठाउँदै उपस्थित हुन निर्देशन दिएको छ ।

‘आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यको बुँदा नं. २५८ मा वित्तीय पारदर्शीताका लागि व्यवसायीहरुको कर प्रशासनमा पेश गरेको विवरण र बैंक तथा वित्तीय संस्थाहरुमा पेश गरेको विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास गर्ने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोशिएसनको सहकार्यमा विकास गरिएको छ,’ विभागका निर्देशक ऋषिराम पोखरेलद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सो प्रणालीको कार्यान्वयनको सन्दर्भमा देहायको समय, मिति र स्थानमा हुने छलफल कार्यक्रममा वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिका लागि सहयोग र समन्वय गरिदिनुहुनु आदेशानुशार अनुरोध गर्दछु ।’


पुष्प दुलाल