४९.५० % ले बढ्यो प्रथम जीवन बीमा शुल्क, नेपाल लाइफ पहिलो, युनियन लाइफको चमत्कार (सूचिसहित)



काठमाडौं । जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षमा ४९.५० प्रतिशतले बढेको छ ।

बीमा कम्पनीले बीमा समितिमा बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले २८ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यसमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको तथ्यांक जोडिएको छैन । आर्थिक वर्ष २०७४÷७५ मा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनमा आएको थिएन ।

गतवर्ष ४९ अर्ब ७९ करोड रुपैयाँको बीमा शुल्क नविकरण भएको छ । सबै जोड्दा गतवर्ष जीवन बीमा कम्पनीले ८५ अर्ब २ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन कसको कति(सूचि सहित)

गतवर्ष विगतमा जस्तै सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाइफको २२ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क नविकरण हुदा कुल बीमा शुल्क आर्जन ३१ अर्ब ८७ करोड रुपैयाँ भएको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । एलआईसीले गतवर्ष ४ अर्ब ४९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । नविकरण भएको बीमा शुल्क ९ अर्ब १५ करोड हुँदा एलआइसीले १३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा ठूलो धक्का पुराना कम्पनीलाई नयाँ आएको युनियन लाइफ इन्स्योरेन्सले दिएको छ । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ । युनियन लाइफको २५ करोड २८ लाख रुपैयाँको बीमा शुल्क नविकरण भएको छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन लाइफ चौथो स्थानमा छ ।

नेशनल लाइफ इन्स्योरेन्स प्रथम बीमा शुल्क आर्जनमा तेस्रो स्थानमा छ । नेशनल लाइफले २ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।

नयाँ आएका जीवन बीमा कम्पनीमा १ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा युनियनपछि रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायबलले १ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।

पुराना कम्पनीमा १ अर्बभन्दा कमको प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

विदेशी जीवन बीमा कम्पनीको शाखाको रुपमा रहेको मेट लाइफले १ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।
गतवर्ष माघदेखि व्यवसाय सुरु गरेको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नोटः बीमा समितिले उपलब्ध गराएको प्रारम्भिक रिपोर्टलाई आधार मानेर यो समाचार प्रकाशित गरिएको हो,वित्तीय विवरण प्रकाशित हुँदा तथ्यांक फरक पर्न सक्छ


क्लिकमान्डु