अध्ययन सकिँदै १४ जलविद्युत आयोजना, ३६०९ मेगावाट विद्युत उत्पादन हुने



काठमाडौं । सरकारले ३ हजार ६०९ मेगावाट क्षमताका १४ जलविद्युत आयोजनाको अध्ययन निकट भविष्यमै सम्पन्न गर्ने जनाएको छ ।

ती आयोजना हाल अध्ययनका विभिन्न चरणमा रहेको र निकट भविष्य मै अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्ने तयारी गरेको छ ।

विद्युत विकास विभागका अनुसार ३७२ मेगावाट क्षमताको अरुण ४ को अध्ययन भइरहेको छ । संखुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनालाई निर्माण सुरु गर्ने गरी प्रक्रिया समेत सुरु गरिसकिएको विभागको भनाइ छ ।

त्यस्तै, झापा जिल्लामा आयोजनास्थल रहेको ९० मेगावाट क्षमता रहेको कन्काई बहुउद्देश्यीय आयोजना, हुम्ला जिल्लामा आयोजनास्थल रहेको ५० मेगावाट क्षमताको लोति कर्णाली, संखुवासभा जिल्ला मै आयोजनास्थल रहेको ५६ मेगावाट क्षमताको तल्लो अप्सुवा अध्ययन सम्पन्न हुने चरणमा छन् ।

विभागका अनुसार ६७९ मेगावाट क्षमताको तल्लो अरुण, ६.७५ मेगावाट क्षमताको पिखुवा खोला पनि अध्ययन सम्पन्न हुने चरणमा पुगेका छन् ।

यस्तै, प्यूठान र अर्घाखाँची जिल्लाको सीमाना भएर बग्ने पश्चिम राप्ती नदीमा निर्माण हुने ३७७ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय आयोजना र ९.१४ मेगावाट क्षमताको रुपागाड, ४ मेगावाट क्षमताको न्याउरीगाड, १७.५५ मेगावाट क्षमताको जवा खोला र २०.५ मेगावाट क्षमताको कवाडी खोली पनि अध्ययन सम्पन्न हुने चरणमा पुगेका छन् ।

यसैगरी सेती खोला ६, २७६ मेगावाट क्षमताको आयोजना निकट भविष्य मै अध्ययन सम्पन्न भइ निर्माणमा जाने चरण छ ।

यस्तै, विपी राजमार्गको करिब ५० किलोमिटर क्षेत्रलाई डुबाउने अनुमान गरिएको १ हजार ११६ मेगावाट क्षमताको सुनकोसी २ को पनि अध्ययन सकिन लागेको विभागले जनाएको छ । सो आयोजना सिन्धुली र रामेछाप जिल्लामा अवस्थित छ ।

यस्तै, ५३६ मेगावाट क्षमताको सुनकोसी ३ पनि अध्ययन सम्पन्न हुने चरणमा पुगेका छ ।

तर कुबेती फन्ड र साउदी फन्डले लगानी गर्ने सुनिश्चित भइसकेको अछाम जिल्लामा आयोजना स्थल रहेको बुढिगण्डकी जलविद्युत आयोजना भने कहिले निर्माण सुरु हुने हो टुंगो लागेको छैन् ।

सो आयोजना सधै अध्ययनमा मात्रै रहेको भन्दै विभागले आयोजना प्रभावित अछामीलाई झुक्काइरहेको छ ।

हाल सो आयोजनाको पहुँच मार्गको ट्रयाक मात्रै खोल्ने काम अगाडि बढेको छ ।

विस्तृत इन्जिनियरिङ डिजाइन रिपोर्ट प्राप्त भएको भए पनि त्यसमा पुनरवलोकन गर्ने भन्दै विभागले आयोजना अगाडि बढाउने कुनै छेकछन्द देखाएको छैन् ।


क्लिकमान्डु