बाढी र पहिरोले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर टुट्यो, लामो समय नेटवर्क बिजी नराख्नू: प्राधिकरण



काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको अप्टिकर फाइबर चुडिएका कारण बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।

विशेष गरी तराई मधेशका जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयले राहत तथा उद्धारमा समेत समस्या पैदा भएको जनाएका छन् ।

भारी बर्षाले गर्दा देशका विभिन्न स्थानमा बाढी पहिरो आई ठूलो जनधनको क्षति भएकाले दूरसञ्चार सेवा अवरुद्ध हुन पुगेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले बाढी क्षति पुगेका अप्टिकल फाइबर मर्मतको काम भइरहेकाले दूरसञ्चार सेवामा सहजता ल्याउने प्रयास भइरहेको जनाएको छ । विशेष गरी प्रदेश नं १ र २ मा अप्टिकल फाइबर टुटेको छ ।

अप्टिकल फाइबर चुडिएका कारण नेपाल टेलिकम, एन सेललगायतका दूरसञ्चार सेवा प्रदायकले सेवा दिन नसकेको जनाएको छ । ठूलो मात्रामा बिटिएस टावर बन्द भएका छन् । प्राधिकरणले यस्तो परिस्थितीमा वैकल्पिक व्यवस्था गरी दूरसञ्चार सेवालाई नियमित बनाउन प्राधिकरणले प्रयास गरिरहेको जनाएको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई आवश्यक निर्देशन दिई सेवा नियमित बनाउन आवश्यक निर्देशन दिइसकेको समेत जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यालाई प्रभावकारी बनाउन सञ्चार सम्कर्प स्थापित गर्न नेटकवर्क व्यस्त नगरिदिन र उद्धार कार्यलाई प्रभावकारी बनाउन समेत प्रधाधिकरणले आग्रह गरेको छ ।

बाढी पहिरोका कारण केही पहाडी जिल्ला र विशेष गरी तराईका जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणले विपदको समयमा लामो समय कुरा नगर्न र नेटवर्क व्यस्त नराख्न समेत आग्रह गरेको छ ।

उद्धार र राहतका लागि तत्काल प्रयास गर्ने प्रभावकारी माध्यम नै दूरसञ्चार सेवा भएकाले परिस्थितीलाई मूल्यांकन गरी छोटो कुरा गर्न समेत आग्रह गरेको छ ।


पुष्प दुलाल