दुई जना साथीले ऋण लिएर सुरु गरेको इन्डिगो एयरलाइन्स, मित्रतादेखि दुश्मनीसम्मको यात्रा
मित्रतादेखि दुश्मनीसम्मको कथा त तपाई हामीले सुनेकै हो । खासगरी चलचित्रमा कथामा प्रायः भेटिने यस्ता दृश्यहरु वास्तविक जीवनमा पनि देखियो भने त्यसको परिणाम के हुन सक्छ ? के तपाईले कल्पना गर्न सक्नुहुन्छ ?
वास्तविक जीवनमा यस्तै कथा छ एउटा एयरलाइन्सको । यो कथा हो दुई जना घनिष्ठ साथीहरु राकेश गंगवाल र राहुल भाटियाको ।
जसले ऋण लिएर सुरु गरेको भारतीय विमान कम्पनी इन्डिगो एयरलाइन्समा आएको विवादका कारण दुईबीचको मित्रता दुस्मनीमा बदलिएको छ ।
सुरुवाती दिनमा दुबै जनाले एउटा सपना देखेका थिए । सबैभन्दा ठूलो विमान कम्पनी बनाउने । जसलाई मूर्तरुप दिनका लागि दुबै जना मिलेर रात दिन नभनी काम गरे । र, आजका दिनमा भारतमा निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो विमान कम्पनी बनाए । सपना साकार बनाइ छाडे ।
बलियो मित्रताको जगमा उभिएर सुरु भएको व्यवसायिक मित्रता सफलताको उत्कर्षमा पुगेका बेलामा मित्रता दुस्मनीमा बदलिएको छ । अहिले उनीहरुबीचको सुमधुर सम्बन्धमा रिस, आवेग र ईश्याको पर्खाल उभिएको छ । जसका कारणले अहिले कम्पनी फरक ढंगबाट चर्चामा छ ।
भारतीय सञ्चारमाध्यम मनिकन्ट्रोल डटकमको एक रिपोर्ट अनुसार १३०० करोड भारुको एक डिलले यी दुई साथीहरुमा विवादको विऊ रोपिएको हो ।
कसरी भयो सुरुवात ?
राहुल भाटिया दिल्लीको एक व्यवसायिक घरानामा जन्मिएका थिए । पढ्नका लागि क्यानडा गए । सन् १९८४ मा साथमा इलेक्ट्रिकल इन्जिनियरिङको डिग्री लिएर उनी स्वदेश फर्किए ।
पिता कपिल भाटिया पार्टनरसिपमा दिल्ली एक्सप्रेस नामक एक ट्राभल एजेन्सी चलाउँथे । दिल्ली फर्केका राहुलले पिताको अन्य कम्पनीको कारोबारमा हात हाले ।
तर सोचे जस्तो प्रगति गर्न भने सकेनन् । यसैबीच उनका पिता कपिल भाटिया बिरामी भए । पिताले राहुललाई फ्यामली विजनेश सम्हाल्न भने ।
राहुलले काम सम्हाले र कम्पनीलाई नयाँ नाम दिए ‘इन्टरग्लोव इन्टरप्राइजेज’ । सोही कम्पनीले ग्यालेलियो इन्टरनेशनल नामको एक कम्पनीको एयरलाइन्स टिकट रिजर्भेसनको फ्रेञ्चाइजी लिए ।
राहुलले लामो समयसम्म यस क्षेत्रमा काम गरे । राहुल भाटियाका एक साथी थिए राकेश गंगावल । उनी अमेरिकी नागरिक थिए । उनी यूनाइटेड एयरलाइन्स तथा यूएस एयरवेज जस्ता कम्पनीका उपल्लो पदमा रहेर काम गरिसकेका थिए ।
यसैबीच राहुलले उनीसँग एक एयरलाइन्स कम्पनी सुरु गर्ने प्रस्ताव राखे । तत्कालिन समयमा भारतमा निजी एयरलाइन्सको क्षेत्रमा किंग्सफिसर, जेट तथा स्पाइस जेटको दबदबा थियो । तर यी सबै एयरलाइन्स फरक-फरक समस्यासँग जुधिरहेका थिए ।
बजारको समस्या देखेर गंगवाल केही हच्किए पनि केही समयको अन्तरालपछि उनी इन्डिगो एयरलाइन्सको पार्टनर बन्नका लागि तयार भए । उनको मञ्जुरीसँगै नयाँ कम्पनी बन्यो इन्टरग्लोव एभिएसन । र सन् २००४ मा एयरलाइन्स सुरु गर्नका लागि लाइसेन्स पनि लिए ।
एकैपटक किने १०० विमान
कम्पनीलाई आफ्नो सेवा सुरु गर्नका लागि सन् २००४ मा लाइसेन्स मिल्यो । तैपनि कम्पनीले आफ्नो उडानको अनुमति लिन गर्नका लागि सन् २००६ जुलाइसम्म पर्खनु पर्यो । त्यतिबेला एभिएसन इन्धनको मूल्यले आकाश छोइरहेको थियो । किंग्सफिसर, स्पाइस जेट र जेट जस्ता ठूला कम्पनीहरु समस्यामा परेका थिए ।
सन् २००५ मा अचानक विमान क्षेत्रमा एउटा ठूलो खबर आयो । इन्डिगोले पेरिस एयर शोका दौरानमा १०० विमान खरीद गर्यो । आकस्मिक रुपमा चर्चामा आएको कम्पनीमा तत्कालिन समयमा १०० करोड भारु मात्रै थियो ।
राकेश गंगवालको प्रतिष्ठाले फ्रान्सको एयरबस नामक एयरक्राफ्ट कम्पनीले इन्डिगोलाई यी विमान दिन बाचा गरेको थियो । गंगवाल एयरलाइन्स क्षेत्रमा ३५ वर्ष काम गरिसकेका अनुभवी थिए । यो खरीदपछि इन्डिगोलाई एकाएक चर्चामा ल्याइदियो ।
जुलाइ २००६ मा इन्डिगो एयरलाइन्सलाई पहिलो उडान अनुमति अवसर प्राप्त भयो । र, इन्डिगो एयरलाइन्सले ४ अगस्ट २००६ मा उडान सुरु गर्यो । यसैका साथ दुई जना साथीहरुले नयाँ कारोबारमा पाइला अगाडि बढाए ।
सन् २०११ मा इन्डिगोले एक पटक फेरि मान्छेहरुलाई अचम्मित बनायो । जब उसले एयरबसको १८० विमानका अर्डर गर्यो । त्यसैवर्ष इन्टरनेशनल फ्लाइट्स पनि सुरु भयो । त्यसपछि कम्पनीले ३२०० करोड भारु बराबरको आईपीओ समेत जारी गर्यो । त्यसपछि कम्पनीले सफलताको कैयन उडानको अनुभव लिन सुरु गर्यो । हरेक दिन कम्पनीले उँचो उडान गरिरह्यो । र, प्रत्येक पाइलामा सफलताको झण्डा फहराइरह्यो ।
के हो अहिलेको विवाद ?
मनि कन्ट्रोल डट कममा प्रकाशित एक रिपोर्ट अनुसार विवादका पछाडि राहुल भाटिया र उनको टिमले राकेश गंगवाललाई वेवास्था गर्दाको परिणाम हो । इन्डिगोले जुन महिनामा अमेरिकाको एक कम्पनी सीएफएम इन्टरनेशनलको लिप १ ए इञ्जिन सप्लाइ गर्नका लागि अर्डर दिएको थियो । यी इञ्जिनहरुको भविष्यमा एयरबस ३२० तथा ३२१ मा प्रयोग गर्न गरिने योजना थियो । यही योजनामा सम्झौतामा राकेश गंगवालले चित्त दुखाए ।
त्यसपछि कम्पनीका एक प्रमोटर राकेश गंगवालले सेयर बजारको कन्ट्रोलर एजेन्सी सेबीलाई एउटा पत्र पठाए । जसमा उनले राहुल भाटिया र उनको कम्पनीले शंकास्पद लेन–देन भएको उल्लेख गरे ।
सेयर धनहिरुसँग भएको सम्झौतामा राहुल भाटियालाई कम्पनीमा असामान्य अधिकार दिइएको थियो । कर्पोरेट कानुन र अन्य नियम कानूनको उल्लघंन भइरहेको छ । उनले कम्पनीको आपतकालिन आम सभा बोलाउनका लागि समेत माग गरेका थिए ।
गंगवालले चिठ्ठीको एक पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, वित्त मन्त्री निर्मला सितारमण, विमान मन्त्री हरदीप सिंह पुरी र वाणिज्य मन्त्री पियूष गोयललाई पठाए । गंगवालले लेखेको पत्रलाई लिएर सेबीले कडा निर्णय गर्यो र कम्पनीलाई जवाफ दिनका लागि बाध्य बनायो ।
विवादका अन्य कारण
राकेश गंगलवाल र राहु भाटियाका बीचमा विवाद सुरुवात केही महिना पहिले भउको थियो । तर अब यो विवाद अझ बढी गहिरो हुँदै जाने संकेत देखिएको छ । विवादको केही अन्य कारणहरु यस्ता छन् ।
१) इकोनोमिक्स टाइम्सका अनुसार राकेश गंगवाल र राहुल भाटियाको कम्पनीले करिब–करिब बराबरको हिस्सेदारी छ । तै पनि कम्पनीको बोर्ड अफ डाइरेक्टर तथा म्यानेजमेन्ट राहुल भाटियाको कन्ट्रोल छ ।
२) राहुल भाटिया समूहले इन्टरग्लोव एभिएसन लिमिटेडमा अध्यक्ष, एमडी, सीईओ र प्रेसिडेन्ट राख्नका लागि अधिकार समेत छ । जसमा भाटिया समूहले ३ स्वतन्त्र लगानीकर्ता समेत राख्न सक्छन् ।
३) त्यस्तै, राकेश गंगवाल ग्रुपलाई इन्टरग्लोव एभिएसन लिमिटेडमा जम्मा १ जना स्वतन्त्र लगानीकर्ता राख्ने अधिकार छ । यसै विषयलाई लिएर विवाद उत्पन्न भएको मानिन्छ ।
४) सन् २०१९ को जनवरीमा राकेश गंगवालले कम्पनीमा सीईओका रुपमा रोनोजोए दत्तालाई नियुक्त गरे । यो नियुक्तीमा राहुल भाटिया खुसी थिएनन् ।
५) दुबै जना मालिकका बीच भएको मनमुटावको कारण इन्डिगोका अध्यक्ष आदित्य घोष र कम्पनीका अन्य सिनियर अफसर सञ्जय कुमारको राजीनामा पनि छ । उनीहरुलाई गंगवालकै कारणले राजीनामा दिएको बताइन्छ ।
६) विवादको अर्को कारण भनेको कम्पनीले ठूलो संख्यामा विमान खरिदका लागि दिएको अर्डर पनि एक हो ।
७) सन् २०१८ को फेब्रुअरीमा राकेश गंगवालले सन् २०१९ मा इन्डिगो आफ्नो क्षमतामा ५२ प्रतिशतले संख्या बढाउने छ जसका कारण १५५ वाट विमानको संख्या २५० हुने बताएका थिए । तर व्यवस्थापनले यसको विरोध गरेका थिए । यहाँसम्म कि कम्पनीका अध्यक्ष आदित्य घोष समेत यसको विपक्षमा थिए ।
८) राहुल भाटिया ठूलो विमान खरीद गर्ने पक्षमा छन् । उनी इन्डिगोलाई एक इन्टरनेशनल एयरलाइन्स बनाउन चाहन्छन् । तर राकेश गंगवाल लामो रुटमा चलाउने पक्षमा छैनन् ।
९) इकोनोमिक्स टाइम्सका अनुसार कम्पनीमा दुबै संस्थापकले यस विवादलाई लिएर कानूनी फर्महरुसँग सम्पर्क बढाएका छन् ।
कानूनी संरचना कस्तो छ अहिले ?
इन्डिगोको मूल कम्पनीको नाम हो, इन्टरग्लोव एभिएसन लिमिटेड । यसका दुई जना मालिक छन् ।
१) राहुल भाटिया, जोसँगै ३८ प्रतिशत सेयर छ ।
२) राकेश गंगवाल, जोसँग ३७ प्रतिशत सेयर छ ।
राहुल भाटिया र राकेश गंगवालले सन् २००६ मा इन्डिगो एयरलाइन्सको सुरुवात गरेका थिए । कम्पनीले लो बजेट एयरलाइन्स अर्थात निकै सस्तो मूल्यमा भाडाा कायम गरी देशमा विमान सेवाको सुरुवात गरेका थिए । त्यसैबेलादेखि इन्डिगो शानदार ढंगले चलिरहेको छ ।
आजका दिनमा इन्डिगो सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी हो । यसको भारतीय बजारमा बजार हिस्सा ४९ प्रतिशत छ ।
राकेश गंगवाल अमेरिकाका नागरिक हुन । विश्वभरी एयरलाइन्स क्षेत्रमा राकेश गंगवालको प्रतिष्ठा ठूलो छ । उनी अमेरिकामा रहेरै इन्डिगो सञ्चालनमा सहयोग गर्दै आएका थिए ।
त्यसैगरी अर्को मालिक राहुल भाटिया भारतमा रहेर कम्पनीको कामकाज हेर्दै आएका थिए । दुबै जना मालिकका बीचमा एक प्रकारले काममा विभाजन पनि थियो ।