अरुण तेस्रोको प्रसारण लाइन परिवर्तन हुने, २५ किमि खण्डमा पुनः आईईई अद्यावधिक गर्नुपर्ने



C

काठमाडौं । भारतीय लगानीको अरुण तेस्रो जलविद्युत आयोजनाले ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण प्रक्रिया सुरु गरेको छ ।

संखुवासभाको दिदिनदेखि भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा र महोत्तरी जिल्लामा निर्माण हुने उक्त प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अद्यावधिक गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।

उक्त आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत निगमले निर्माण गरिरहेको छ । आयोजना निर्माणका लागि सतलजले एसजेभीएन अरुण थ्री पावर डेभलोप्मेन्ट कम्पनी स्थापना गरेको छ ।

उक्त प्रस्तावित प्रसारण लाइन आयोजना नेपालको साविक ५५ वटा गाविस र ३ वटा साविक नगरपालिका भएर जानेछ । उर्जा मन्त्रालयले २०७३ मंसिर १७ गते नै स्वीकृत गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनलाई अद्यावधिक गर्न एसजेभीएनले पुनः सूचना प्रकाशित गरेको हो ।

सूचना अनुसार उदयपुरको कटारी नगरपालिकास्थित टावर नम्बर २४८ देखि २९२ सम्म पर्ने २५ किलोमिट खण्डको प्रसारण लाइनमा व्यवहारिक एवम प्राविधिक कारणले परिवर्तन गर्नुपर्ने भएकाले उक्त अध्ययन प्रतिवेदन जरुरी देखिएको हो ।

साविक ढल्केवर गाविस हाल मिथिला नगरपालिकामा पर्ने नेपाल विद्युत प्राधिकरणको ढल्केवर सव स्टेसनसँगै जोडिएको ३.६ हेक्टर क्षेत्रफल जग्गामा निर्माण हुने सव स्टेसन र ५.४ किलोमिटर लामो प्रसारण लाइन समेतको प्रारम्भिक वातावरण अध्ययन यस अघि स्वीकृत अध्ययन प्रतिवेदनमा अद्यावधिक गरिने सूचनामा उल्लेख छ ।

अद्यावधिक गर्न लागिएको वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा ती क्षेत्रहरुको भौतिक जैविक, आर्थिक तथा सामाजिक सांस्कृतिक र मानवीय क्रियाकलाप एवम प्रणालीका बारेमा आवश्यक सूचना एवम प्रभावका बारेमा अध्ययन गरिनेछ ।

कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको हाल २५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हुन नसक्दा म्याद थप समेत हुन सकेको छैन् ।

भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने उक्त आयोजना हाल करिब अलपत्र अवस्थामा रहेको छ । तर अरुण तेस्रो आयोजनाको भने धमाधम काम भइरहेको छ ।


क्लिकमान्डु