गाडी आयातको कडा नीतिलाई खुकुलो बनाउने अर्थमन्त्रीद्धारा आश्वासन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी आयातमा गरिएको कडा नीतिलाई खुकुलो बनाउने आश्वासन बिक्रेतालाई दिएका छन् ।

सरकारले ल्याएको व्यापार घाटा न्यूनिकरण गर्ने कार्ययोजनामा गाडी आयात कडाई गर्न टिआर लोनमा कडाई गर्ने तथा गाडी किन्न दिने ऋणको सिमालाई घटाउने उल्लेख छ ।

गाडीमा कडाइ हुन नदिन व्यवसायीको तीब्र लबिङ: आपूर्तिमन्त्री भेटे, अर्थमन्त्री र गभर्नर भेट्दै

गाडी आयातका लागि बिक्रेताले टिआर लोन लिने गर्छन् । सरकारले गाडी त्यसका पाटपुर्जाको आयात कम गर्न टिआर लोन कडाई गर्ने उल्लेख गरेको थियो ।

नाडा अटोमोबाइल्स एशोसियनका अध्यक्ष शम्भु दाहालको नेतृत्वमा गएको व्यवसायीको टोलीले १० वर्षको ग्यारेन्टी गरेर गाडी बिक्री गरेको हुने भन्दै पार्टसको आयात रोक्ने निर्णय ठिक नभएको जानकारी अर्थमन्त्री खतिवडालाई गराएका थिए ।
‘अर्थमन्त्रीलाई गाडी बिक्रेतालाई परेको समस्याको बारेमा जानकारी गराएका छौ,सकारात्मक जवाफ आएको छ,’दाहालले भने ।

अहिले गाडी खरिदका लागि ५० प्रतिशत डाउनपेमेन्ट बैंकले दिने गरेको छ । योजनामा त्यसलाई थप घटाउन निर्देशन दिने भनिएको छ ।

यसलाई ५० बाट बढाउनुपर्नेमा घटाउने नीति उल्टो हुने भन्दै एशोसियनले बढाउन नसके यथावत राख्न सुझाव दिएको छ ।

एशोसियनले राजस्वको प्रमुख स्रोत गाडी रहेको भन्दै त्यसको संवेदनशिलतालाई समेत ध्यान दिन आग्रह गरेको छ ।


पुष्प दुलाल