गाडीमा कडाइ हुन नदिन व्यवसायीको तीब्र लबिङ: आपूर्तिमन्त्री भेटे, अर्थमन्त्री र गभर्नर भेट्दै



काठमाडौं । सरकारले सवारीसाधन (अटोमोवाइल्स)मा कडाइ गर्ने नीति लिँदै कार्यान्वयमा अघि बढेपछि अटोमोवाइल्स व्यवसायीहरुलाई तनाब भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘व्यापारघाटा न्यूनिकरण कार्ययोजना’ले ब्यापारघाटा कम गर्न सवारीसाधनको आयातलाई निरुत्साहित थप कडाइ गर्नुपर्ने प्रस्ताबलाई मन्त्रिपरिषदले पारित गरेर कार्यान्वयनमा अघि बढाइएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्र बैंकले यही असार अन्तिम साता सार्वजानिक गर्ने मौद्रिक नीति सार्वजानिक गर्दैछ । मौद्रिक नीतिले सवारीसाधन आयात गर्दा दिँदै आएको टीआर लोनलाई कडाइ गर्दैछ । अहिले व्यवसायीहरुले मूल्यको ७० प्रतिशतसम्म टीआर लोनको सुविधा पाउँछन् ।

सरकारले यस्तो कर्जामा रोक लगाउन भने पनि केन्द्रिय बैंकले भने कडाई गरेर ३०/४० प्रतिशतमा झार्ने तयारी गरिरहेको बुझिन्छ । व्यवसायीहरुको लबिङ नपुगेको खण्डमा राष्ट्र बैंकले रोक नै लगाउन सक्ने संभावना पनि छ ।

‘हामी पर्याप्त अध्ययन नगरी हतारोमा निर्णय र्छौं, फुर्सदमा विश्लेषण गर्छौं अनि आफ्नो निर्णयबाट पछि हट्छौं,’ मन्त्री यादबको भनाई उदृत गर्दै एक व्यवसायीले भने, ‘यो निर्णय पनि हतारमा भएको छ, निश्चय पनि हामी तपाईंहरुका माग सम्बोधन गर्दै न्यायोचित निर्णय गर्छौं ।’

त्यसैगरी, अहिले सर्वसाधारणले गाडी किन्दा ५० प्रतिशत रकम नगद तत्कालै तिर्नुपर्छ भने ५० प्रतिशतसम्म बैंकले ऋण दिन्छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकले ऋण दिन पाउने सीमालाई घटाएर ४० प्रतिशत गर्ने तयारी गरिरहेको छ । त्यसैले व्यवसायीहरु आत्तिएका हुन् ।

‘सरकारले लिएको नीति हूबहू कार्यान्वयन हुने हो भने नेपालमा अटोमोवाइल्स व्यवसाय तहसनहस हुन्छ,’ एक व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘त्यसैले हामीले यो व्यवस्था कार्यान्वयन हुन नदिन तीब्र लबिङ गरिरहेका छौं ।’

लबिङ गर्ने क्रममा व्यवसायीहरुले जहाँबाट यसको शुरुवात भएको त्यहीँबाट लबिङ थालेका छन् । गाडी आयातमा थप कडाइ गर्ने कार्ययोजा वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको हो ।

त्यसैले नेपाल अटोमोवाइल्स डिलर एशोसिएशन (नाडा) का अध्यक्ष शम्भु दाहाल नेतृत्वको व्यवसायीहरुको टोलीले बिहीबार आपूर्तिमन्त्री मातृका यादबलाई भेटेको छ ।

बिहिबार साढे ४ बजे नाडा अध्यक्ष दाहालको अगुवाइमा निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, कार्यसमिति सदस्य तथा अटोमोवाइल्स व्यवसायीहरु करण चौधरी, आकाश गोल्छा, दिपक अग्रवालल, सुनिल रिजाल र सुरेश उप्रेती गायतका दर्जन व्यवसायीहरुको टोलीले आपूर्ति मन्त्री यादबलाई मन्त्रालयमै पुगेर भेट्यो ।

व्यवसायीहरुले मन्त्री यादबलाई आफ्ना कुराहरु लिखित रुपमै बुझाए । व्यवसायीहरुले अटोमोवाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले अटोमोवाइल्स क्षेत्रलाई बिलासी र अनुत्पादक भनेर नकरात्मक व्यवहार गरेको भन्दै उनीहरुले गुनासो गरे ।

टीआर कर्जा बन्द गर्दा पर्ने असरको बारेमा पनि मन्त्रीलाई ब्रिफिङ गरे । यो क्षेत्रले राजस्वमा गरेको योगदान पनि सुनाए ।

आयातका हिसाबले तेस्रो नम्बरमा रहेको अटोमोवाइल्स व्यवसाय राजस्वका हिसाबले भने पहिलो रहेको भन्दै व्यवसायीहरुले मन्त्रीलाई कन्भिन्स गर्न खोजे ।

सरकारले कडाइ गर्दा उपभोक्तालाई पर्ने कठिनाइको बारेमा गंभीर भएर सोच्न आग्रह गरे ।

व्यवसायीहरुको कुरा सुनेपछि मन्त्री यादब गंभीर देखिए । मन्त्री यादबले घुमाउरो तरिकाले सरकारले गल्ती गरेको भन्दै यसलाई करेक्सन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आवश्यकताको गाडीमा सरकारले रोक नलगाउने उने प्रष्ट पारे । मन्त्री यादबले सरकारले हतारोमा निर्णय गर्ने अनि फुर्सदमा विश्लेषण गरे पछि हट्ने गरेको पनि सुनाए ।

‘हामी पर्याप्त अध्ययन नगरी हतारोमा निर्णय र्छौं, फुर्सदमा विश्लेषण गर्छौं अनि आफ्नो निर्णयबाट पछि हट्छौं,’ मन्त्री यादबको भनाई उदृत गर्दै एक व्यवसायीले भने, ‘यो निर्णय पनि हतारमा भएको छ, निश्चय पनि हामी तपाईंहरुका माग सम्बोधन गर्दै न्यायोचित निर्णय गर्छौं ।’

यस विषयमा मन्त्रालयले आन्तरिक र अन्तरमन्त्रालय छलफल गरिरहेको जानकारी दिँदै उक्त निर्णयमाथि पुनर्बिचार गर्ने मन्त्री यादबले आश्वासन दिए ।

मन्त्रीको आश्वासनले व्यवसायीहरुको मुहारमा केही चमक आयो । व्यवसायीहरुको टोली आपूर्ति मन्त्रालयबाट ५ बजे बाहिरियो ।

अर्थमन्त्री युवराज खतिवडा मन्त्रालयमै रहेको जानकारी पाएपछि टोली अर्थ मन्त्रालयतिर हानियो ।

मन्त्री खतिवडाको सचिवालय पुगेर टोलीले नाडाको टोली भेट्न आएको छ भनेर अर्थमन्त्रीलाई चिट पठाउन लगायो ।

तर, अर्थ मन्त्री खतिवडाले कार्यव्यस्तताको कारण देखाउँदै भेट्नका लागि समय दिन नसक्ने बताए । खतिवडाले ‘आगामी आइतबार सोमबारतिर समय लिएर आउनू’ भन्ने सन्देश दिए ।

त्यसपछि व्यवसायीहरुको टोली फर्कियो ।

नाडाले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालसँग पनि समय मिलाउन प्रयास गरिरहेको छ ।

गभर्नर डा. नेपाल असार २२ गते स्वदेश फर्किँदैछन् । गभर्नर स्वदेश फर्किएलगत्तै भेटेर आफ्ना कुरा राख्ने नाडाका एक पदाधिकारीले जानकारी दिए ।

‘आगामी साता हामी अर्थमन्त्री र गभर्नरलाई भेटेर हाम्रा कुरा राख्छौं,’ एक व्यवसायीले भने ।


पुष्प दुलाल