सिभिल बैंकका सीइओ गुरुङ भन्छन्- आधा दर्जन बैंकले मर्जरको प्रस्ताब गरे, कुन कुन हुन् ती ?



काठमाडौं । सिभिल बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङलाई मर्जरको जोडी खोज्ने र डिल गर्ने जिम्मा दिएको छ ।

सीइओ गुरुङका अनुसार अहिले ६ वटा वाणिज्य बैंकसँग सिभिल बैंकको मर्जरको कुराकानी भइरहेको छ ।

‘हामीलाई ६ वटा बैंकले मर्जरको प्रस्ताब गरेका छन्,’ सीइओ गुरुङले क्लिकमाण्डूसँग भने, ‘प्रारम्भिक छलफल भइरहेको छ, टुंगो भने लागेको छैन ।’

दोस्रो र तेस्रो पुस्ताका बैंकहरुले सिभिललाई मर्जरका लागि प्रस्ताब गरेको उनले जानकारी दिए ।

‘प्रारम्भिक छलफल भएकाले नाम डिस्क्लोज गर्न मिल्दैन,’ उनले भने, ‘अन्तिम पुस्ता र पहिलो पुस्ताका बैंकसँग होइन, दोस्रो र तेस्रो पुस्ताका बैंकसँग तीब्ररुपमा छलफल भइरहेको छ ।’

राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दिनुभन्दा अघिदेखि नै सिभिल बैंकले जोडी खोजिरहेको उनले बताए ।

‘हामी पहिलेदेखि नै मर्जरको छलफलमा थियौं, तर अहिले छलफल बाक्लिएको छ, हामी सबै प्रकारका अप्सनमा खुल्ला छौं,’ उनले भने, ‘पछिल्लो दिनमा हामीलाई प्रस्ताब गर्नेहरुको संख्या बढेको छ ।’

सकेसम्म मौद्रिक नीतिअघि नै पार्टनर खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

बैंकका सञ्चालक प्रतापजंग पाण्डेका अनुसार सिभिल बैंकलाई धेरैवटा बैंकले मर्जरको उपयुक्त पार्टनर ठानेर प्रस्ताब गरिरहेका छन् ।

‘सिभिल बैंकप्रति अरु बैंकको आकर्षण बढेको छ, आधा दर्जन बैंकले हामीलाई मर्जरको प्रस्ताब गरेका छन्,’ पाण्डेले क्लिकमाण्डूसँग भने, ‘उपयुक्त संस्था छानेर मर्जर गर्छौं ।’

सीइओ गुरुङ र सञ्चालक पाण्डेले कुन कुन बैंकले प्रस्ताब गरेर भनेर नाम भन्न चाहेनन् ।

‘प्रारम्भिक छलफल भएकाले नाम भन्न मिल्दै मिल्दैन,’ उनीहरुले भने ।

तर, बजारभरी बैंक अफ काठमाण्डू, प्राइम, सिटिजन्स, लक्ष्मी, ग्लोबल आइएमइ, प्रभु लगायतका बैंकसँग मर्जरको प्रारम्भिक कुराकानी भएको चर्चा छ भने एनआइसी एशियाभित्र सिभिलको कुराकानी भएको पनि उस्तै चर्चा छ । यद्यपि बजारको यो हल्ला सत्य नहुन पनि सक्छ । बैंकले आधिकारिकरुपमा नभनेसम्म यसलाई हल्लाकै रुपमा बुझ्नुपर्छ ।


पुष्प दुलाल