अन्तिम चरणमा कुलेखानी तेस्रो : एक महीनापछि विद्युत उत्पादन हुने



C

काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट एक महीनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।

भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युतगृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणको चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत आयोजनाको निर्माण गरिएको थियो ।

चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिए । अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत उतपादन हुँदै आएको छ । रासस


क्लिकमान्डु