८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न ठूलो कुरा छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’

दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।’

उनले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने बताए ।

सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने र जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य भएको बताए ।

उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको जानकारी दिए ।


पुष्प दुलाल