संसदलाई अर्थमन्त्रीको ब्रिफिङः दाताले ४० अर्ब भुक्तानी नदिँदा विदेशी मुद्रा सञ्चितिमा चाप पर्यो



काठमाडौं । अर्थमन्त्री युवरजा खतिवडाले दातृ निकायबाट चलिरहेका आयोजनाबाट ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।संसदमा सम्बोधन गर्दै मन्त्री खतिवडाले सांसदहरुलाई यस्तो जानकारी दिए ।

‘दातृ निकायबाट चलिरहेका विकास निर्माणका आयोजनाहरु ४० अर्ब भुक्तानीको शोधभर्ना हामीले पाएका छैंनौं । त्यो शोधभर्ना लिन समस्या भइरहेको छ,’ खतिवडाले भने- ‘हामीले निर्माण गरेको आवास विश्व बैंकले निर्माण गरेको मापदण्ड अनुसार नमिल्दा शोधभर्ना लिन नसकेको हो । त्यो लिएपछि हाम्रो विदेशी मुद्रा सञ्चिनी बढेर जान्छ ।’

मन्त्री खतिवडाले पर्यटनजन्य सामान, हवाई इन्धन, कृषि उत्पादनमा प्रयोग हुने सामग्रीको आयातकोे चाप रहेकोले विदेशी मुद्रा सञ्चिति कमजोर बन्दै गएको र ब्यापार घाटा चुलिएको जानकारी दिए ।

‘पुँजी निर्माणका लागि आयात बढेको छ भने त्यसबाट डराउनु हुँदैन,’ खतिवडाले भने र  १२ कक्षा पनि नपढेका नेपालीलालाई विदेशमा पठाउने र विदेशबाट आएको पैसालाई खर्च गर्ने गरेका कारण भुक्तानी सन्तुलनमा नरहेको बताए ।

मुलुकमै उनीहरुको लागि राम्रो शिक्षा र रोजगारी दिनेमा ध्यान जान आवश्यक रहेको बताए । उनले विदेशमा भएको पैसा बैंकिङ प्रणालीबाट ल्याउन सरकारले काम गरिरहेको पनि जानकारी दिए ।

बैठकमा सांसदहरुले लगातार विदेशी मुद्रा सञ्चित घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।


पुष्प दुलाल