नेपालको जलविद्युतमा आक्रामक लगानी गर्दै चिनियाँ बैंक तथा लगानीकर्ता



काठमाडौं । पछिल्लो पटक नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानीकर्ताले एकपछि अर्को गर्दै आक्रामक रुपमा लगानी सुरु गरेका छन् ।

लामो समयसम्म चर्चामा मात्रै सिमित रहेको माथिल्लो त्रिशुली एक मा करिब १० अर्ब बराबरको लगानी गर्न चिनियाँ स्वामित्वको बैंक एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंक सहमत भएको छ ।

कोरियाली लगानीकर्ता प्रवद्र्धक रहेको सो आयोजनामा लगानीका लागि चिनियाँ स्वामित्वको सो बैंक तयार भएको छ ।

आयोजनाको परियोजना विकास सम्झौता र विद्युत् खरीद सम्झौता समेत भइसकेको छ । आयोजनाका लागि नै भनेर सरकारले हेजिङ फण्डको समेत व्यवस्था गरिसकेको छ ।

कूल २१६ मेगावाट क्षमताको सो आयोजनामा रसुवामा निर्माण हुन लागेको छ । त्रिशुली एक कोरियाली कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनी प्रालिले निर्माण गर्न लागेको हो ।

आयोजना निर्माण, परिचालन र हस्तान्तरण मोडेलमा निर्माण हुने गरी तयारी गरिएको छ । सो आयोजनामा आइएफसि र एशियाली विकास बैंकले समेत लगानी गर्ने भएका छन् ।

सो आयोजनाका लागि एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंकले ९० मिलियन अर्थात ९ अर्ब ९९ करोड नेपाली रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएको छ ।

एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले विद्युत वितरण प्रणाली सुदृढीकरण र तामाकोशी ५ जलविद्युत आयोजनामा समेत ऋण लगानी गर्ने तयारी गरेको छ । यस्तै वितरण प्रणाली सुदृढीकरणको पनि बैंकले लगानी गर्ने तयारी गरेको छ ।

बैंकले ७२ अर्ब लागत अनुमान गरिएका अन्य जलविद्युत आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनामा १० अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्ने छ । चिनियाँ बैंकले नेतृत्वमा रहेको इन्फास्ट्रक्चर बैंकको यो नेपालमा पहिलो लगानी हो । नेपाल सो बैंकको संस्थापक लगानीकर्ता समेत हो ।

यस्तै माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको नजिकै निर्माण हुन लागेको सुपर साञ्जेन आयोजनामा समेत लगानी जुटेको छ । नबिल बैंक र यसका साझेदार बैंकले सो आयोजनामा लगानी गर्ने भएका छन् । कुल ७८ मेगावाट क्षमताको सो आयोजनामा सिन्डिकेट पोलिसी अन्तरगत लगानी हुने छ । आयोजनाको क्षमता ७८ मेगावाट रहेको छ ।

आयोजना ‘चाइना हरबोर इन्जिनियरिङ कम्मनी’ ले प्रवद्र्धन गर्न लागेको हो ।

आयोजनाका लागि नेपालमा सालासुङ्गी पावर नामक कम्पनी दर्ता गरिएको छ । आयोजना नदी प्रवाही हो भने कूल लागत १३ अर्व २ करोड रुपैयाँ हुने जनाइएको छ ।


क्लिकमान्डु