केन्द्रबाट बन्ने झोलुङे पुलका १८ आयोजना प्रधानमन्त्री ओलीको जिल्ला झापामा
काठमाडौं । आगामी आर्थिक वर्षमा केन्द्रीय सरकारले देशभर बनाउन लागेका झोलुङेपुल अन्तर्गत १८ वटा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा परेको छ ।
आगामी आर्थिक वर्षमा झोलुङे पुलको लागि ४ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ बिनियोजन भएको छ । जसमा संघले २ अर्ब २७ करोड ३७ लाख रुपैयाँ बिनियोजन भएको छ ।
प्रदेशबाट ३० करोड रुपैयाँ र स्थानीय तहबाट १८ करोड रुपैयाँ बिनियोजन भएको छ ।
झोलुङेपुल क्षेत्रगत कार्यक्रमको लागि बिनियोजन भएको बजेटमा चालु तर्फ २ अर्ब १३ करोड ५९ लाख तथा पुँजीगततर्फ २ अर्ब २४ करोड बिनियोजन भएको छ ।
मन्त्रालयले आयोजनाको लागि बिनियोजन गरेको रकम भने खुलाएको छैन ।
संघिय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले बुधबार संसद्मा पेश गरेको आगामी आर्थिक वर्षमा बिनियोजन भएको बजेटमा संघबाट निर्माण हुने झोलुङे पुल सबैभन्दा बढी झापा जिल्लामा बन्ने छन् । झापामा १८ वटा झोलुङे पुलको आयोजना संघ अन्तर्गत छ ।
यस्तै प्रदेश अन्तर्गत ८ वटा र स्थानीय तहबाट ९ वटा झोलुङे पुल बन्ने छ ।