किन घट्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?



काठमाडौं । कुनैपनि कम्पनीको सेयर मूल्य घट्छ, बढ्छ । यो सामान्य प्रक्रिया हो । कम्पनीको सेयरमूल्य घट्यो वा बढ्यो भने कम्पनी जिवन्त छ भन्ने प्रमाण पनि हो ।

तर, सेयर बजारमा यस्ता डरलाग्दा खेलहरु पनि हुन्छन्- कम्पनीको सेयरमूल्य घटाएर बजारबाट उठाउने । नेपालमा पनि पटकपटक यस्ता घटनाहरु हुने गरेका छन् ।

पछिल्लो पटक एनआइसी एशिया बैंकको सेयर मूल्य घट्नुलाई पनि अर्थपूर्ण रुपमा बुझ्नु पर्ने लगानीकर्ताहरु बताउँछन् ।

वितेका ६ महिनायता लगातार बढेको एनआइसी एशियाको सेयर मूल्य पछिल्लो एक महिना किन घट्यो ?

सेयर बजार सम्बन्धी एक जानकारले भने, ‘पहिलो कुरा त पछिल्लो समय नेपालको सेयर बजारमा भारतीय कालोधन आएको थियो, भारतीय चुनाव सकिएपछि त्यो धन फिर्ता भएको छ । जसकारण नेपालको सेयर बजार पनि घटिरहेको छ ।’

दोस्रो कारण, अहिले एनआइसी एशियाको सेयर मूल्य घटाउन एउटा गिरोह नै सक्रिय भएको उनले बताए ।

‘लगातार बढेपछि एउटा गिरोह नै यो बैंकको सेयरमूल्य घटाउन लागि परेको छ,’ उनले भने, ‘यत्ति भनेपछि तपाईं आफैं बुझिहाल्नु हुन्छ ।’

लगानीकर्ताले निकै चासोका साथ हेरेको एनआईसि एसिया बैंकको सेयर पछिल्लो एक महिनामा ४७ रुपैयाँले घटेको छ । बैशाख २९ गते प्रतिकित्ता ४९८ रुपैयाँ रुपैयाँ रहेको बैंकको सेयर मूल्य मंगलबारसम्म आईपुग्दा ४५१ रुपैयाँमा झरेको छ । मंगलबार मात्रै प्रति कित्ता ९ रुपैयाँले सेयर मूल्य घटेको छ ।

यो दिन कारोबार रकम भने दोस्रो स्थानमा रहेको छ । बैंकको २ करोड ७४ लाख ५५ हजार ७४५ रुपैयाँको सेयर किनबेच भएको छ । एक महिनाको अवधिमा बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले घटेको छ । एक महिनादेखि बैंकको सेयर मूल्य अधिकांश दिन ओरालो लागेको छ ।

सर्ट टर्म खेल्नेलाई एनआइसी एशिया मालामाल, महिना दिनमै ११० रुपैयाँ बढ्यो

बैंकले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७३/०७४ मा २० प्रतिशत बोनस र १.०५ नगदसहित २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

पछिल्लो समय आक्रमक बजार विस्तार गरिरहेको यो बैंकका वित्तीय सूचकांकहरु अहिलेसम्म उस्तै सबल बन्दै गएका छन् ।

०७५ पुस मसान्तसमा लगानीकर्ताको समम्पत्तिमाथि प्रतिफल (आरओइ) मा एनआइसी एशिया बैंक पहिलो नम्बरमा छ । र, चैत मसान्तको वित्तीय विवरणमा पनि एनआइसी एशिया आरोइमा पहिलो नम्बरमा नै छ ।

आगामी आर्थिक वर्ष बैंकले राम्रो लाभांश दिन्छ भनेर लगानीकर्ताहरु एनआइसी एशिया बैंकको सेयरमा झुम्मिएका थिए ।

‘हाम्रो प्रगति देखी नसहने एउटा सानो समूहले एनआइसी एशिया बैंकलाई खराब देखाउन लागि परेको छ,’ बैंक स्रोतले भन्यो, ‘जसको असर सेयर मूल्यमा परेको हो । तर, जब आम लगानीकर्ताले वास्तविक अवस्था बुझ्छन्, त्यसपछि अवस्था अर्कै हुनेछ ।’

बैंकले यस्तो दाबी गरे पनि विगतमा आक्रमक अन्धाधुन्ध कर्जा विस्तार गर्दा बैंकलाई केही समस्या भने पक्कै परेको छ ।

तर, बैंकको आकार निकै ठूलो भएकाले सामान्य घटनाले बैंकलाई ठूलो असर भने नपर्ने देखिन्छ ।

यद्यपि राष्ट्र बैंकले एनआइसी एशियामा कुन प्रकारको समस्या देखिएको हो भनेर भनिनसकेको छैन । बैंक तथा वित्तीय संस्थाको अवस्थाको बारेमा आधिकारिक जानकारी दिने निकाय राष्ट्र बैंक मात्रै हो ।

‘एक/डेढ सय करोडजति प्रोभिजनिङ गर्नुपर्ने अवस्था छ, हाम्रा ऋणी साना भएकाले रकम उठ्नेमा कुनै चिन्ता छैन,’ बैंक स्रोतले भन्यो, ‘असार मसान्तको रिपोर्टमा त्यो प्रष्ट देखिनेछ ।’


पुष्प दुलाल