सर्ट टर्म खेल्नेलाई एनआइसी एशिया मालामाल, महिना दिनमै ११० रुपैयाँ बढ्यो



 

काठमाडौं । पछिल्लो एक महिनायता एनआइसी एशिया बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । मार्च २६ मा ३९८ रुपैयाँ रहेको प्रतिकित्ता सेयरको मूल्य अप्रिल २५ मा ५०७ रुपैयाँ पुगेको छ । अर्थात् १ महिनाको अवधिमा एक कित्ता सेयरको मूल्य ११० रुपैयाँले बढेको छ ।

मार्च ३१ सम्म पनि यो बैंकको सेयर मूल्य ४०० रुपैयाँ थियो । अप्रिल लागेपछि भने बैंकको सेयरमूल्य लगातार बढिरहेको छ । अप्रिल १ मा ४१०, अप्रिल २ मा ४२६, अप्रिल ३ मा ४३६, अप्रिल ४ मा ४४० हुँदै अप्रिल ७ मा ४६८ रुपैयाँ पुग्यो ।

त्यसैगरी, अप्रिल ८ र ९ मा भने केही घट्यो । ८ मा ४६६ भयो भने ९ मा ४५८ रुपैयाँमा झर्यो ।

त्यसपछि फेरि बढ्न थाल्यो । अप्रिल १० मा ४६६, अप्रिल ११ मा ४६९ र अप्रिल १२ मा ४७० रुपैयाँ पुग्यो ।

अप्रिल १६ मा भने एकैदिन २२ रुपैयाले बढेर ४९२ पुग्यो । त्यसपछिका दुई दिनमा १० अंकले घटेर अप्रिल १८ मा ४८२ रुपैयाँमा आइपुग्यो । अप्रिल २१ मा फेरि बढेर ४९४ रुपैयाँ पुग्यो ।

अप्रिल २२ मा फेरि १० रुपैयाँले घटेर ४८४ रुपैयाँमा झर्यो । अप्रिल २३ मा ४९० पुग्यो । अप्रिल २४ मा एकैदिन १६ रुपैयाँले बढेर ५०६ रुपैयाँ र अप्रिल २५ मा ५०७ रुपैयाँ पुग्यो ।

अप्रिल २५ को बैंकमो सेयरमूल्य एक वर्षयताकै उच्च हो । एक वर्षको अवधिमा बैंकको सेयरमल्य ३०० भन्दा माथि र ४५० रुपैयाँभन्दा तल थियो ।

छोटो समयमा खेल्नेहरुले यो बैंकको सेयरबाट मालामाल कमाइ गरेका छन् । ४०० रुपैयाँ लगानी गरेर एक महिनामै १०० रुपैयाँ नाफा कमाउनु भनेको निकै राम्रो हो ।

केही हप्ताअघि नम्बर वान बैंक नविल बैंकका सीइओ अनिल केशीरी शाहले आफ्नो बैंकको प्रतिस्पर्धा एनआइसी एशिया बैंकसँग मात्रै हुने बताएका थिए ।

एनआइसी एशिया बैंकले मिराकल गरेको भन्दै उनले खुलेर प्रसंसा गरेका थिए । कतिपयले उनको यो अभिव्यक्तिको प्रभाव एनआइसी एशियाको सेयर मूल्यमा परेको विश्लेषण गरेका छन् ।

यो त एउटा बहाना मात्रै हो ।

एनआइसी एशिया बैंकको सेयर मूल्य बढ्नुका पछि अन्य थुप्रै कारण छन् । पछिल्ला वर्षहरुमा आक्रमक बजार विस्तारमा होमिएको बैंकले नाफा पनि राम्रो कमाएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणमा बैंकले वित्तीय विवरण सार्वजानिक गर्न लागेको छ । चैत मसान्तको रिपोर्टमा बैंकको नाफा उल्लेख्य बढ्ने र चालू आर्थिक वर्षमा पूराना ठूला बैंकको हाराहारीमा नाफा कमाउने प्रक्षेपणका कारण यो बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

व्यवसाय विस्तारमा आक्रमक भएकाले चालू आर्थिक वर्षको नाफाबाट आगामी वर्ष बोनस सेयर पाइने पनि लगानीकर्ताहरुको आशा छ । गत आर्थिक वर्षको नाफाबाट पनि बैंकले चालू आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर दिएको थियो । आगामी आर्थिक वर्ष यो दर १५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण लगानीकर्ताहरु बताउँछन् ।

 


पुष्प दुलाल