सञ्चालनमा आयो रोल्पाको कोइलाचौर सबस्टेन



काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३–११ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।
रोल्पा र सल्यानको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट सञ्चालन (चार्ज)मा आएको विद्युत प्राधिकरणले जनाएको छ ।

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति गर्न सक्ने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले बताए । सिंहका अनुसार, सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाँउपालिका, कोइलाचौरजुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बुढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिने छ ।

यसबाट करिब ३० हजार जनता लाभान्वित हुने उनले बताए । दाङको तुलसीपुरबाट करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेसन विद्युत आपूर्ति गरिएको छ । प्राधिकरण र इष्ट इन्डिा–बाक्ष्बा इन्फ्राटेक जेभीबीच सबस्टेसन निर्माणका लागि ९ करोड ३८ लाख रुपैयाँमा आर्थिक वर्ष ०७१–७२ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का ०७२ को असारबाट कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, सप्तरीको रुपनी, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, वर्दियाको राजापुर, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु