यसरी पहिले नै सार्वजानिक भएको थियो भरत मोहन अधिकारीको बजेट



काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवस, संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउने दिन पनि हो । आज अपराहन्न ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्ने कार्यतालिका छ ।

खतिवडाले कस्तो बजेट ल्याउलान त ? बजेटमा के कस्ता आयोजनाहरु समेट्लान सबैको चासो बढेको छ । कर्मचारीको तलबदेखि, वृद्धभत्ता बढ्ला कि नबढ्ला भन्नेमा धेरैको चासो पनि छ । बजेट गोप्य राखिनुपर्ने सबैको चासो बढेको छ ।

नेपालमा गणतन्त्र आइसकेपछि मुलुकमा यस्ता अर्थमन्त्री पनि भए जसले तयार पारेको बजेट भाषण पहिले नै सार्वजनिक भएको थियो । ती हुन् तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारी ।

बजेट भाषण अगावै त्यससम्बन्धि विवरण सार्वजनिक भएको विषयमा छानविन गर्नका लागि संसदीय छानबिन समितिले तत्कालिन उपप्रधान तथा अर्थमन्त्री अधिकारी र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग बयान समेत लिएको थियो ।

२०६८ साल असार ३० गते बजेट भाषणका लागि समयतालिका थियो । अधिकारीले बजेट भाषण गर्ने समयमा तत्कालिन लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुको अवरोधका कारण बजेट भाषण हुन पाएको थिएन् ।

तर अर्थमन्त्रालयले भने आफ्नो वेवसाइटमा बजेटको पूर्णपाठ राखिसकेको थियो ।

वेवसाइटमा राखिएको उक्त भाषण धेरै सञ्चारमाध्यमहरुले डाउनलोड गरी प्रकाशित गरेका थिए । भोलिपल्ट असार ३१ गते मधेसी मोर्चासँग सहमति गरेर बजेट भाषण त भयो । तर त्यो भाषण बासी भइसकेको थियो । भोलिपल्टका अखबारहरुमा बजेट सार्वजनिक भएपछि यसको चर्को विरोध भएको थियो ।

बजेट चुहिएको विषयमा अधिकारीले सदनमा क्षमायाचना समेत गरेका थिए । तर उनले बजेट भाषण पूरा गर्न नपाउँदै अर्थमन्त्रालयको वेवसाइटमा बजेट राखिएपछि कांग्रेससहितका प्रतिपक्षी दलहरुले त्यस विषयमा संसदीय छानबिन गर्न माग गरेका थिए ।

बजेट भाषणकै बीच सभासदहरुले लगातार नियम आपत्ती गरेपछि संसदको मानहानी भएको जनाएपछि सभामुखले छानबिन समिति बनाएका थिए ।

संसदले कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अर्थमन्त्री अधिकारी, अर्थसचिव कृष्णहरि बास्कोटासँग बयान लिएको थियो ।


पुष्प दुलाल