चीनको चेतावनीः तातोपानी आसपासमा ‘स्वतन्त्र तिब्बत’का गतिविधि भए नाका बन्द गर्दिन्छौं



काठमाडौं । सम्भवतः यही साता चीन जोड्ने पूरानो नाका तातोपानी सञ्चालनमा आउँदैछ । नेपाल र चीन सरकारका अधिकारीबीच भएको सहमति अनुसार यही जेठ १७ गते सो नाका खुल्दैछ ।

काठमाडौँको चिनियाँ राजदूतावासले पनि नाका खोल्ने विषयमा पुष्टि गरिसकेको छ । केही दिन पहिलेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होऊ यान्छीले तातोपानी नाका खोल्ने तयारी गरिएको जानकारी दिएकी थिइन् ।

यसरी ब्यूँतियो भूकम्पले खण्डहर बनेको तातोपानी नाका (फोटो फिचर)

नाका खुल्ने अन्तिम तयारी भइरहेको बेला चिनियाँ अधिकारीले भने विगतका केही घटनाले सताइरहेको पाइएको छ । २०७२ साल वैशाख १२ गते गोरखालाई केन्द्र नाएर ठूलो भूकम्प गयो । भूकम्पले क्षति पुर्याएका जिल्लामा गोरखा, दोलखा पछि सिन्धुपाल्चोकको नाम आउँछ ।

नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको तातोपानी नाका समेत सो दिन उस्तै व्यस्त थियो । शनिबारको दिन भएकाले नेपालबाट माल सामान किन्न जाने नेपाली पनि उतै थिए, खासा बजारमा । एकाएक विहान ११.५६ बजे आएको भूमम्पले ठूलो क्षति पुर्यायो ।

सिन्धुपाल्चोकमा मात्रै ३ हजार बढीले ज्यान गुमाएका थिए । भूकम्प गए लगत्तै राहत र उद्दारका लागि चिनियाँ सुरक्षाकर्मी खासा, तातोपानी नाका हुँदै बाह्रबिसेसम्म आइपुगे । हरेक घरमा उनीहरुले उद्दारको काम गरे ।

उद्दारको क्रममा पुगेका चिनियाँ सुरक्षाकर्मीले उद्दार र राहत वितरणका कुने कन्जुस्याई गरेनन् । बन्द भएको सडक खुलाउन डोजर, क्रेन लगायतका सामग्री पनि सँगै ल्याए । प्राकृतिक विपत्तीमा परेका नेपाली नागरिकलार्य खुला ह्दयले सहयोग गरे ।

तर जे नहुनेपर्ने थियो, त्यही देखियो । र, फेला पर्यो ।

नेपालले एक चीन नीतिलाई लामो समयदेखि अवलम्बन गर्दै आएको छ । नेपालभित्र कुने पनि प्रकारको स्वतन्त्र तिब्बतको पक्षमा कुने पनि गतिविधि गर्न पाइदैन ।

तर खासा बजार, जो चीनकै भूभाग हो । खासामा नै चीन विरोधी गतिविधिका सामग्री फेला परे । स्वतन्त्र तिब्बतको पक्षमा लाग्न र लगाउन प्रेरित गर्ने खालका सामग्री उता पनि भेटिए, यता नेपाल तर्फ पनि भेटिए ।

दलाई लामाको फोटो र किताब पनि फेला परे । जुन चिनियाँ अधिकारीको अपेक्षा भन्दा बाहिरका कुरा थिए । आफ्नै भूमि र छिमेकी देशको भूमिमा समेत दलाई लामाका सामग्री फेला पर्नु सोच्दै नसोचेको विषय थियो ।

चिनियाँ अधिकराीलाई सोही विषयले सबैभन्दा बढी छोयो । सो नाका कसरी बन्द गरौ भन्ने सोचमा रहेका चिनियाँ अधिकारीलाई बाहाना मिली हाल्यो । उनीहरुले तातोपानी नाका बन्द गरिदिए । र, भने- ‘भूकम्पका कारण चिनियाँ भूभागमा समेत ठूलो क्षति पुगेको छ । मर्मत सम्भार गर्न लामो समय लाग्छ, तत्काल नाका खुल्न समस्या हुन जान्छ ।’

लामो प्रयासपछि चीन पुनः नाका खोल्न तयार भएको छ । तर फेरि पनि चिनियाँ अधिकारी सीमा क्षत्रेमा स्वतन्त्र तिब्बत गतिविधि होला कि भन्ने चिन्तामा छन् । उनीहरुले नेपाली अधिकारी र जनप्रतिनिधिलाई पनि सोही विषयमा पटक पटक ध्यानाकर्षण गराएका छन् ।

स्थानीय जनप्रतिनिधि समेत चिनियाँ अधिकारीले आफूसँगको भेटमा सीमा अवाच्छित गतिविधि नहोस् भन्ने चाहना राखेको बताउँछन् । विगतमा खासा बजारमा खुलमखुल्ला जस्तै यौन धन्दा हुने गरेको थियो ।

चिनियाँहरुले नेपाली युवती मन पराउने र नेपाली भने चिनियाँ युवती खोज्दै खासा पुग्ने गरेको तथ्य कोही कसैबाट छिपेको छैन । सो विषयमा भने चिनियाँ अधिकारी मौन छन् ।

तर स्वतन्त्र तिब्बतको गतिविधि नहोस भन्ने नै उनीहरुको चाहना छ । त्यस्तो गतिविधि भएको सुइको समेत पाए चिनियाँ पक्षले हाल खुल्न लागेको नाका जुनसुकै बेला पनि बन्द गर्न सक्ने चेतावनी दिएका छन् ।

नेपाली पक्षले उनीहरुको सोही चासो र मागलाई सम्बोधन गर्न सके तातोपानी नाका विगतको जस्तै व्यस्त हुने कुराका कुने दुविधा रहदैन ।


पुष्प दुलाल