कुलमानलाई भष्ट्रचारको आरोप लगाउने मोदीको कारण ६ महिनादेखि प्रसारण लाइन अवरुद्द



काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा मंगलबार नेकपाका सांसद् अमनलाल मोदीले लोडसेडिङ हटाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भष्ट्रचारीको आरोप लगाए ।

त्यसको जवाफमा प्राधिकरणका कार्यकारी निर्देशकले भष्ट्रचार गरेको प्रमाणित भएमा आफु झुण्डिन तयार भएको प्रतिक्रिया दिए ।

मोरङबाट प्रत्यक्ष निर्वाचित सांसद् मोदीको स्वार्थको कारण कुलमान घिसिङलाई भष्ट्रचारीको आरोप लगाएका हुन् ।

लोडसेडिङ हटाउने कुलमानलाई मोदीले भने, ‘तपाईले भ्रष्टाचार गर्नुभयो’

नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।

यसले गर्दा दुहवीबाट विद्युत् लागी सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए । ‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’,सिंहले भने । ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ ।’

स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

अमनलाल मोदी

मोदीले स्थानीयको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सवस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले संचालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, मन्त्री पुनको अग्रहलाईसमेत मोदीले मानेका छैनन् । स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेका हुन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ ।

मोदीले भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भने- प्रमाणित भए झुण्डिन तयार छु

सबस्टेसन संचालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।

कटारी क्षेत्रका उद्योगी व्यवसायीले चुनावमा चन्दा दिएनन् तिनलाई किन सहज बनाउन सवस्टशेन बनाउने भनेर मोदी लागिरहेका छन् ।
ऊर्जा मन्त्री बर्षमान पुनलाई समेत मोदीले त्यही कुरा गरेका थिए ।

प्राधिकरणले पनि चन्दा दिनुपर्छ भन्दै मोदीले पैसा मागेका थिए ।


क्लिकमान्डु