राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला, को हुन् उनी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त गरेको छ । बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत निरौलालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि नारायण पौडेल प्रवक्ता थिए । पौडेल ३० वर्षे अवकास नीतिका कारण बैशाख २५ गते विदा बसेका थिए । उनी विदा बसेपछि रिक्त रहेको प्रवक्तामा निरौलालाई नियुक्ति गरिएको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले जानकारी दिए ।

मोरङ जिल्लाको इटहरा स्थायी घर भएका निरौला २०४६ साल माघमा राष्ट्र बैंक प्रवेश गरेका हुन् । उनले ५ वर्षयता विभिन्न विभागमा कार्यकारी निर्देशक भएर कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका छन् ।

अर्थशास्त्रमा मास्टर्स गरेका निरौलाले पूर्वाञ्चल विश्वविद्यालयबाट जनप्रशासनमा पनि मास्टर्ससम्मको अध्ययन पूरा गरेका छन् ।

उनीसँग बैंक सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्र विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ ।

त्यस्तै, डेढवर्ष नेपाल बैंकको व्यवस्थापन टिममा बसेर काम परेको पनि अनुभव छ ।

त्यसैगरी, बैंक अफ काठमाण्डू र एनसीसी बैंक राष्ट्र बैंकले टेक ओभर गरेपछि निरौलालाई अध्यक्ष बनाएर पठाएको थियो ।

वाक्कलामा पोख्त निरौलाको मृदुभाषी छन् ।

खासगरी प्रवक्ता भनेको कतिपय मिडियासँग निकट सम्बन्ध राखेर काम गर्नसक्ने व्यक्ति हुनुपर्छ । प्रवक्ता मृदुभाषी नहुँदा र पत्रकारहरुको सहजै पहुँचमा नआउँदा संस्थाको बारेमा नकरात्मक प्रचार हुने संभावना बढी हुन्छ ।

यसअघिका प्रवक्ता नारायण पौडेलको रुखो स्वभावका कारण पत्रकारहरु आजित भएका थिए ।

राष्ट्र बैंकका गतिविधिलाई पत्रकारहरुलाई सरल ढंगले बुझाउन प्रयास गर्ने र मिडियासँगको सम्बन्ध सकेसम्म सँधै राम्रो राख्न आफू हरसंभव प्रयास गरिरहने नयाँ प्रवक्ता निरौलाले बताए ।

‘आफ्नो जिम्मेवारीलाई इमानदारीताका साथ पालना गर्नेछु,’ निरौलाले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल