प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही



काठमाडौं । सैद्दान्तिक समझदारी गरेको ८ महिनापछि डिमर्जमा जाने निर्णय गरेका प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ महनिाभित्र मर्जर तथा एक्वायरमा जान राष्ट्र बैंकले अल्टिमेटम दिएको छ ।

राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्राइम र ओमलाई एक्विजिसनका लागि दिएको सैद्दान्तिक सहमति खारेज गर्दै अर्को कुनै संस्था खोजेर ३ महिनाभित्र मर्जरमा जान अल्टिमेटम दिएको हो ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

‘प्राइम र ओमलाई दिएको एक्विजिशनको सैद्दान्तिक सहमति खारेज गर्दै आगामी ३ महिनाभित्र अर्को संस्था खोजेर मर्जर वा एक्विजिसनमा जान अल्टिमेटम दिएका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘३ महिनाभित्र मर्जर वा एक्वायरमा नगए दुबै बैंकलाई शाखा खोल्न र आधारभूत सेयर ट्रान्सफर गर्न प्रतिबन्ध लगाने छ भने सञ्चालक समितिलाई सचेत गराइने छ ।’

३ महिनासम्म राष्ट्र बैंकबाट पाउने पुनःकर्जा लगायतका सुविधा उपलब्ध नगराउने सञ्चालक समितिले निर्णय गरेको छ ।

राष्ट्र बैंक एने दफा १०० को अधिकार प्रयोग गरी यस्तो कारबाही गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो ।

कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि यी दुई संस्थाबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै संस्थाले प्रक्रिया अवरुद्ध हुनुमा एकअर्कालाई दोष लगाएका छन् ।

एक्विजिसन प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले यही बैशाख १३ गतेसम्मका लागि समय दिएको थियो । उक्त मितिमा दुबै बैंकले अलग हुनका लागि आवेदन दिएका थिए ।

बैशाख ८ गते राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलको संयोजकत्वमा प्राइम र ओमका प्रतिनिधि र विभागकै अन्य कर्मचारीहरुबीच छलफल भएको थियो ।

प्रक्रिया तोडे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि यी संस्थाले अलग हुने निर्णय गरेका हुन् । गत भदौ ३ गते दुबै बैंकका अध्यक्षले एक समारोहबीच एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।


पुष्प दुलाल