सस्तोमा मोटरसाइकल खोज्दै हुनुहुन्छ ? यहाँ किन्नुहोस्



काठमाडौं । सस्तो मूल्यमा सवारी साधानको खोजीमा हुनुहुन्छ ? तपाईले कुनै व्यापारीक फर्म वा व्यवसाय गर्ने उद्देश्यका साथ कुनै कम्पनी दर्ता गर्नु भएको छ ? मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर छ । जलेश्वर भन्सार कार्यालयले विभिन्न ६० प्रकारको सवारी साधानको लिलाम गर्ने तयारी गरेको छ ।

जलेश्वर भन्सार कार्यालयले आज एक सूचना प्रकाशित गरी टाटाको ट्रक देखि विभिन्न कम्पनीका मोटर साइकल लिलामीका लागि सूचना प्रकाशित गरेको छ । यस्तै लिलामी गर्न लागिएका सवारी साधनमा स्वराज ट्याक्टर तथा पावर टिलर समेत रहेका छन् ।

चोरी निकासी वा पैठारीका क्रममा भन्सार कार्यालयले पक्राउ गरेको सवारी साधन लिलामीमा बिक्रीका लागि सूचना प्रकाशित गरिएको हो ।

लिलाम बढावढ गरेर ती सवारी साधन बिक्री गर्न लागिएकाले इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । भन्सारले टाटा ट्रक ९ लाख रुपैयाँमा लिलाम गर्न लागेको छ । यस्तै मोटर साइकल भने कम्पनी अनुसार सरल मूल्यमा लिलाम गर्न लागेको हो ।

लिलाम गर्न लागिएका सवारी साधन मध्ये ४० वटा मोटर साइकल भने प्रयोग गर्न नसकिने अवस्थामा रहेको आज प्रकाशित सूचनामा उल्लेख छ ।


पुष्प दुलाल