बीमा समितिका अध्यक्ष चापागाईले भने, लघुबीमामा ७५ प्रतिशत अनुदान आवश्यक 



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले लघुबीमा कार्यक्रममा सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएमा न्यून आय भएका मानिस लाभान्वित हुने बताएका छन् ।
बिहीबार अर्थ समितिले आयोजना गरेको आगामी आर्थिक वर्ष २०७६÷०७७ को प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘बचत परिचालनमा जीवन बीमा समूहको भूमिका राम्रो छ, स–सानो बचतलाई परिचालन गर्नतर्फ सबैको ध्यान जान जरुरी छ ।’
सरकारले कृषि क्षेत्रमा स्वरोजगार सृजना गर्ने लक्ष्य लिएको र उक्त लक्ष्य पूरा गर्नका लागि न्यून आय भएको वर्गलाई समेत लघुबीमामा ल्याउनुपर्ने उनको सुझाव छ ।
चापागाईंले २०७५ माघ १ गतेदेखि लागू हुने गरी सबै बीमा कम्पनीहरुलाई सम्पत्ति बीमा निर्देशिका तयार गरी लागू गरिएको जानकारी दिए । उक्त निर्देशिकामा एक करोडसम्मको सम्पत्तिको प्रति हजार ४० पैसाका दरले बीमा हुने व्यवस्था छ । त्यस्तै, एक अर्बसम्मको सम्पत्तिमा ४ हजार रुपैयाँसम्म बीमा हुन्छ ।
अहिले स्थानीय तहले लिने सम्पत्तिको करमा सानो अंश भएपछि छुट दिन सकेको खण्डमा सबैको हित हुने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै बीमक संघका अध्यक्ष दीप पाण्डेले सरकारको नीति बीमामैत्री नभएको भन्दै आगामी दिनमा बीमामैत्री नीति ल्याउन सुझाव दिए ।
माइक्रो इन्स्योरेन्स प्रभावकारी नभएको र सरकारले कृषि बीमालाई प्राथमिकतामा नराखेको उनको गुनासो थियो । यसका लागि अनुदानमा समेत सरलिकरण गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु