व्यवसायीको आन्दोलनले छोएन बैंकलाई, स्प्रेड झन् बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)



काठमाडौं । बैंकहरुले ऋणीसँग चर्को व्याजदर असूलेको भन्दै व्यवसायीहरु सडक आन्दोलनमा उत्रिए । त्यतिमात्रै होइन, प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरलाई भेटेर व्यवसायीहरुले ब्याजदर घटाउन दबाब सिर्जना गरे ।

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले ब्याजदर घटाउने आश्वासन पनि दिए । यद्यपि बैंकको ब्याजदर अनूभूति हुनेगरी घटेको छैन ।

एकातिर वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव रहेकाले त्यसको प्रभाव ब्याजदरमा परेको छ । महंगोमा निक्षेप उठाएका बैंकहरुले व्यवसायीले मागेजस्तो सस्तोमा कर्जा दिन सक्ने अवस्था छैन ।

व्यवसायीहरुले बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिनेबीचको ब्याज अन्तर (स्प्रेड दर) घटाउनु पर्ने माग जोडतोडले उठाएका थिए ।

व्यवसायीको माग सम्बोधन गर्न राष्ट्र बैंकले स्प्रेडको गणनाविधिमा नयाँ व्यवस्था गर्ने घोषणासमेत गरिसकेको छ ।

तर, यही अवधिमा बैंकहरुले भने स्प्रेड दर बढाएका छन् ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरेका १३ वटा बैंकमध्ये १२ वटाको स्प्रेडदर बढेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ०७६ चैत मसान्तसम्ममा ४.७५ प्रतिशत र असार मसान्तसम्ममा बैंकहरुको स्प्रेड दर ४.५० प्रतिशत भन्दा बढी हुनु हुँदैन ।

नेपाल एसबिआइ बैंकले मात्रै स्प्रेड दर घटाएको वित्तीय विवरण सार्वजानिक गरेकोछ । ०७५ पुस मसान्तमा ४.८७ प्रतिशत स्प्रेड दर बैंकले ०७५ चैत मसान्तमा ४.८० प्रतिशतमा झारेको छ ।

पुस मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड दरलाई नेपाल बैंकले बढाएर चैत मसान्तमा ५.५० प्रतिशत पुर्याएको छ । त्यसैगरी, प्रभु बैंकले पुसमा ४.८७ प्रतिशत रहेको स्प्रेडलाई बढाएर चैतमा ४.८८ प्रतिशत पुर्याएको छ ।

त्यस्तै, पुसमा ४.३८ प्रतिशत रहेको स्प्रेडलाई एभरेष्ट बैंकले चैतमा बढाएर ४.६९ प्रतिशत पुर्याएको छ भने ४.२३ प्रतिशत रहेको स्प्रेडलाई सानिमा बैंकले बढाएर ४.६४ प्रतिशत पुर्याएको छ ।

त्यसैगरी, पुसमा ३.८१ प्रतिशत रहेको स्प्रेडलाई ग्लोबल आइएमइ बैंकले चैतमा ४.६३ प्रतिशत पुर्याएको छ भने माछापुच्छ्रे बैंकले ४.०८ प्रतिशत रहेको स्प्रेडलाई बढाएर ४.५७ प्रतिशत पुर्याएको छ ।

सनराइज बैंकले पुसमा ४.३१ प्रतिशत रहेको स्प्रेडलाई बढाएर चैतमा ४.३८ प्रतिशत पुर्याएको छ भने पुसमा ३.९९ प्रतिशत रहेको स्प्रेडलाई एनएमबि बैंकले चैतमा बढाएर ४.३३ प्रतिशत पुर्याएको छ ।

सिद्दार्थ बैंकले पनि पुसमा ३.९९ प्रतिशत रहेको स्पेडलाई चैतमा बढाएर ४.१५ प्रतिशत पुर्याएको छ भने ३.४५ प्रतिशत रहेको स्प्रेडलाई सिटिजन्स बैंकले बढाएर ३.६४ प्रतिशत पुर्याएको छ ।

वित्तीय विवरण सार्वजानिक गरेका १३ वटा बैंकमध्ये कुमारी बैंकले सबैभन्दा कम स्प्रेड राखेको छ । पुस मसान्तमा ३.३१ प्रतिशत रहेको स्प्रेड दर चैत मसान्तमा बढाएर ३.६१ प्रतिशत पुर्याएको छ ।


पुष्प दुलाल