मस्र्याङदी नदीको दायाँ र बायाँ चार लेनको सडक बन्ने



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ-पोखरा सडक खण्डमा पर्ने मस्र्याङदी नदीको दायाँ र बायाँ सडक बन्ने भएको छ । सरकारले दुई लेनको मुग्लिङ-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न लागेको छ । मुग्लिङ-आबुखैरेनी खण्डमा पर्ने मस्र्याङदी जलविद्युत् गृहलाई बचाउन नदीको दायाँबायाँ सडक निर्माण गर्न लागिएको हो । मस्र्याङदी जलविद्युत् आयोजना ६७ मेगावाट क्षमताको रहेको छ ।

नदीको दायाँ र बायाँ सडक विस्तार गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । चैतको दोस्रो साता बसेको मन्त्रिपरिषदको बैठकले सडक विस्तार गर्न स्वीकृति दिएको हो । सडकको रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्बाट स्वीकृति लिइएको बताइएको छ । यो सँगै सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले मुग्लिङ-पोखरा चार लेनमा विस्तार गर्ने तयारी गरिरहेको छ ।

मुग्लिङ-पोखरा सडक खण्ड ९३ किलोमिटर छ । यो सडक खण्डको आबुखैरेनी–पोखरा सडकखण्डको ८७ किलोमिटरको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ । निर्देशनालयले कोरियन परामर्शदाता केईसीसीलाई डीपीआरको जिम्मा दिएको थियो । मुग्लिन-आबुखैरेनीे ६ किलोमिटर सडक खण्डको रेखांकन परिवर्तन गर्नुपर्ने भएकोले केईसीसीले आबुखैरेनी–पोखरा खण्डको डीपीआर तयार गरेर बुझाएको थियो । केईसीसीले नै बाँकी खण्डको डीपीआर तयार गरिरहेको छ ।

निर्देशनालयका उपनिर्देशक सुरेश पौडेलका अनुसार मस्र्याङदी जलविद्युत गृहलाई क्षतिबाट जोगाउन नदीको दायाँ र बायाँ सडक बनाउन खोजिएको हो । ‘मुग्लिन-नारायघाट सडक खण्ड साँघुरो भइसकेको छ । यसलाई विस्तार गर्न आवश्यक छ’, पौडेलले भने, ‘यो सडक खण्डमा मस्र्याङदी जलविद्युत गृह छ ।

जलविद्युत गृहलाई सुरक्षित राख्न रेखांकन परिवर्तन गरिएको हो ।’ नदीको दायाँ र बायाँ बन्ने सडकमा एकतर्फी सवारीमात्र गुड्न पाउनेगरी डिजाइन गरिने छ । यो सडक खण्ड एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार गर्ने तयारी गरिएको हो । पौडेलका अनुसार सन् २०१९ भित्रै यो सडक विस्तारका लागि एडीबीसँग ऋण सम्झैता हुनेछ ।


क्लिकमान्डु