१३ वटा कम्पनी थपेपछि बीमा समितिले ल्यायो मर्जर निर्देशिका, छुटको बोनससँगै फोर्स मर्जरको समेत व्यवस्था



काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्वाएरको लागि मर्जर निर्देशिका जारी गरेको छ ।

समितिले आइतबार निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई मर्जरको लागि प्रोत्साहन गरेको हो ।

बीमा समितिले दुई वर्ष अगाडि १३ वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनी रहेका थिए ।

बीमा समितिले जीवन बीमा कम्पनी जीवनसँग र निर्जीवन बीमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरेर निर्देशिका ल्याएको छ ।
जसमा बीमा कम्पनीहरु मर्जरमा जानको लागि बैंक तथा वित्तीय संस्थामा जस्तै सम्झौता गरेपछि सैद्दान्तिक स्वीकृतिको लागि बीमा समितिमा निवेदन दिनुपर्ने छ । बीमा समितिको स्वीकृतिसँगै सम्पत्ति दायित्व मूल्यांकन(डिडिए) गराएर सेयर स्वाप रेसियो कामय गर्नुपर्ने छ ।

बीमा समितिले मर्जरमा जाने संस्थालाई तोकिएको समयमा चुक्ता पुँजी नपुगेमा छुट दिने,प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्ने छुट दिएको छ ।
यस्तै बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक ब्यक्ति, समूह वा संस्थाको नाममा चुक्ता पूँजीको पन्ध्र प्रतिशत भन्दा बढि शेयर स्वामित्व कायम हुन गएमा त्यस्तो शेयर स्वामित्वलाई पन्ध्र प्रतिशतको सिमा भित्र ल्याउन दुईबर्ष सम्मको अवधि प्रदान गर्ने उल्लेख छ ।

बीमक गाभिएकै कारण गाभ्ने बीमकको वार्षिक व्यवस्थापन खर्च तोकिएको सीमा भन्दा बढि भएमा आवश्यक छुट दिन सकिनेछ ।

बीमक गाभिएकै कारण गाभ्ने बीमकको सञ्चालक समितिमा समानुपातिक प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर बढीमा दुईजना ब्यक्तिलाई सञ्चालक सरह सुविधा पाउने गरी दुई बर्षसम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन् ।

तर गाभ्ने बीमकले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने सम्वन्धमा यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।

समितिबाट जारी गरिएको “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५” को दफा ४४ को उपदफा (१) को खण्ड (ख) देखि (ङ) मा भएको व्यवस्था बमोजिम एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने अवस्थामा बीमालेखको अवधिसम्मका लागि छुट प्रदान गर्न गर्ने छ ।

साथै, त्यस्तो बीमालेखमा एक वर्षसम्म सह–बीमा मार्पmत कुल बीमालेखको ३० प्रतिशतसम्म अंश धारण गर्न स्वीकृति प्रदान गर्न सकिनेछ ।

दुई वा दुई भन्दा बढी बीमक एक आपसमा गाभिए वा प्राप्ति भए पश्चात नयाँ बीमकका रुपमा स्थापना हुने अवस्थामा गाभ्ने, गाभिनेतथा प्राप्ति हुने बीमकमा कार्यरत प्रमुख कार्यकारी नयाँ बीमकमा प्रमुख कार्यकारी हुँदा निजकोलागि पहिलो कार्यकाल गणना हुनेछ ।

बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति हुँदा समितिले जारी गरेको लगानी निर्देशिका, २०७५ को सीमा फरक पर्न गएमा एक वर्ष भित्रमा लगानीको सीमा भित्र ल्याउनु पर्नेछ ।

बीमकहरु एक आपसमा गाभिए वा प्राप्ति भए पश्चात्त्यस्तो बीमकको सल्भेन्सी मार्जिन समितिले तोकेको सीमा भन्दा कम हुन गएमा आगामी एक वर्षसम्म सीमा भित्र ल्याउनु पर्नेछ ।

बीमा समितिले फोर्स मर्जरको समेत व्यवस्था गरेको छ । समितिले बीमितको हितको रक्षा वा समग्र बीमा व्यवसायको प्रबद्र्धन गर्न दुई वा सो भन्दा बढी बीमक गाभ्न आवश्यक भएको ठहर गरेमा कारण खोली बीमकहरुलाई गाभ्न वा गाभिन नसक्ने वा नपर्ने कारण खुलाई जवाफ पठाउन निर्देशन दिन सक्नेछ ।

यसको लागि निर्देशन दिइएमा तीस दिन भित्र सम्बन्धित बीमकले सोको लिखित जवाफ समितिमा पेश गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिमको जवाफ उल्लेखित समयसम्म सम्बन्धित बीमकबाट नआएमा वा बीमकको जवाफ चित्तबुझ्दो नभएमा समितिले कारण खुलाई ती बीमकहरुलाई गाभ्न वा गाभिनका लागि निर्देशन दिन सक्नेछ ।

अहिले १९ वटा जीवन बीमा कम्पनी छन् । जसमा एउटा मेटलाइफ विदेशी कम्पनीको शाखाको रुपमा रहेको छ । निर्जीवन बीमा कम्पनीको संख्या २० वटा रहेको छ । जसमा नेशनल र ओरियन्टल इन्स्योरेन्स विदेशी कम्पनीको शाखाको रुपमा रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब तोकेको छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब तोकेको छ । नयाँ कम्पनीले आइपिओ जारी गरेपछि तोकेको चुक्ता पुँजी पुर्याउने छन् । पुराना कम्पनीमा धेरैवटाको तोकिएको चुक्ता पुँजी पुगेको छैन ।


क्लिकमान्डु