मर्जरमा एग्रेसिभ बन्दै ग्लोबल आइएमइ बैंकः हाथवे फाइनान्स एक्वायर गर्न अनुमति पायो



काठमाडौं । ग्लोबल आइएमइ बैंकले फेरि अर्को संस्था एक्वायर (प्राप्ति) गर्ने भएको छ । आधा दर्जन बढी संस्था मर्जर र एक्वायर गरेको ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको हो ।

आइतबार नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई हाथवे फाइनानस एक्वायर गर्न सैद्दान्तिक सहमति दिएको हो ।

त्यस्तै, राष्ट्र बैंकले साइन रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंकलाई मर्जरको सैद्दान्तिक सहमति दिएको छ ।

आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार गर्ने तयारी भइरहेको ग्लोबल आइएमइ बैंकका एक अधिकारीले जानकारी दिए ।

‘आइतबार एक्वायरको सैद्दान्तिक सहमति पाएका छौं,’ बैंक स्रोतले भन्यो, ‘असार मसान्तसम्ममा एकीकृत कारोबार गर्छौं ।’

हाथवे समूहको लगानी रहेको हाथवे फाइनान्समा आइएमइ समूहको पनि ठूलो लगानी छ । ग्लोब आइएमइ बैंकमा पनि आइएमइ समूहको ठूलो लगानी छ । एकै समूहको प्रवद्र्धन रहेकाले बैंकले फाइनान्सलाई एक्वायर गर्न सजिलो हुने बताइएको छ ।

हाथवे फाइनान्सको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ भने बैंकको चुक्ता पुँजी चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ ।

ग्लोब आइएमइ बैैंकले आइएमइ फाइनान्स, लर्डबुद्ध फाइनान्स, कमर्ज एण्ड ट्रष्ट, गुल्मी विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, सोसल डेभलपमेन्ट बैंकलगायत १० वटा संस्थालाई मर्ज तथा एक्वायर गरिसकेको छ ।


पुष्प दुलाल