बन्ला त बाहिरी चक्रपथ ? लगानी सम्मेलनमा आयो चारवटा प्रस्ताव



काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ बनाउनको लागि चारवटा प्रस्ताव गरेको छ ।

सरकारले गत महिना गरेको लगानी सम्मेलनमा बाहिरी चक्रपथ बनाउनको लागि चारवटा फरक फरक कम्पनीको चारवटा प्रस्ताव परेको हो ।

लगानी बोर्डले चारवटा प्रस्ताव बाहिरी चक्रपथ निर्माणको लागि परेको जानकारी दिएको छ ।

बोर्डले कुन कम्पनीले कति रकममा लगानी गर्ने र कुन मोडालिटीमा प्रस्ताव गरेको खुलाएको छैन । चारवटा प्रस्ताव परेको र अझै प्रस्ताव दर्ता गर्ने समय बाँकी रहेको छ । यसपछि कुन मोडालिटीमा लगानीकर्तासँग सम्झौता गर्ने टुंगो लाग्ने छ ।

७२ किलोमिटर लामो उपत्यकाको तीनजिल्ला छुने गरेर बाहिरी चक्रपथको अवधारणा बनेको नै एक दशकभन्दा बढीभइक्यो । कतिपय स्थानमा जग्गा खरिदबिक्री समेत रोक्का राखिएको थियो ।

८ लेनको सडक बनाइने र दुवै भागमा साइकल ट्राक राख्ने यसको न्यूनतम लागत आयोजना बनाउन जग्गा अधिग्रहणमा एक अर्ब ५४ करोड ४० लाख डलर (१ खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ) लाग्ने छ । यसको सडक निर्माणमा भने ३२ करोड ७० लाख डलर (३५ अर्ब ९७ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ ।

काठमाडौंमा ३५.०८ किलोमिटर,ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर सडक बाहिरी चक्रपथ अन्तर्गत बन्ने थियो ।

बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।

गतवर्ष मन्त्रीपरिषद्को बैठकले बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो । मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति ऐन जग्गा अधिग्रहणका लागि अधिकार दिँदै डीपीआर स्वीकृत गरेको थियो । तर,यसमा काम भने अगाडि बढ्न सकेको छैन । कतिपय स्थानमा जग्गा अधिग्रहणको काम समेत भएको छ ।


क्लिकमान्डु