एक महिनामा थपिए जीवन बीमामा ४ हजार अभिकर्ता, देशभर ४ लाख ६९ हजार अभिकर्ता



काठमाडौं । बीमा प्रति आम मानिसको चासो बढ्दै गएसँगै अभिकर्तापनि थपिन थालेका छन् ।

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको आठ महिना सम्ममा ४ लाख ७७ हजार ४०८ जना बीमा अभिकर्ता रहेका छन् ।

समितिका अनुसार निर्जीबन बीमामा भन्दा जीवन बीमामा अभिकर्ताको संख्या बढी रहेको छ । गत फागुन महिनासम्ममा जीवन बीमा क्षेत्रमा ४ लाख ७३ हजार ८८१ जना अभिकर्ता रहेका छन् । यो महिना माघमा भन्दा ४ हजार १२० जना बढी अभिकर्ता थपिएका छन् । माघ महिना सम्ममा ४ लाख ६९ हजार ७१६ जना अभिकर्ताहरु रहेका थिए ।

सुर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे बीमाको अभिकर्ता बढ्नुलाई व्यवसाय विस्तार बढेकोसँग हेनुपर्ने बताउँछन् ।
‘बीमाको सम्भावना नेपालमा निकै राम्रो छ,बीमा अभिकर्ताले स्वतन्त्र रुपमा कमाउनको लागि यो पेशा राम्रो छ,’पाण्डेले क्लिकमाण्डूसँग भने । नयाँ कम्पनीहरु आएसँगै व्यापार बढाउनको लागि अभिकर्ताको संख्या समेत बढेको छ । यद्यपी सक्रिय रुपमा बीमा अभिकर्ताको काम गर्नेको संख्या भने कम रहेको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।

समितिका अनुसार जीवन बीमामा भन्दा निर्जीबन बीमा क्षेत्रमा अभिकर्ता धेरै नै कम रहेका छन् । यो क्षेत्रमा पाउने कमिशन कम भएका कारण अभिकर्ता पनि कम भएको बताइएको छ ।

गत फागुन महिनासम्ममा निर्जीबन बीमा क्षेत्रमा जम्मा ५ हजार ५२७ जना मात्र अभिकर्ता रहेका छन् । माघ महिनामा जम्मा ८५ जना मात्र थपिएका छन् ।
समितिका अनुसार बीमा व्यवस्था क्रमैसँग विस्तार हुँदै गएको छ । अहिलेसम्म बीमा व्यवसाय १७ प्रतिशत भन्दा बढी विस्तार भएको छ ।

नयाँ जीवन बीमा कम्पनी थपिएसँगै बीमा अभिकर्ताको संख्या बढेको हो । जीवन बीमा कम्पनीमा व्यवसायको प्रमुख आधार नै बीमा अभिकर्ता हुन् ।
१९ वटा जीवन बीमा कम्पनीको कार्यालय नै १४६४ वटा रहेका छन् । माघ महिना भन्दा फागुन महिनामा नयाँ कार्यालय १०६ वटा थपिएका छन् । यस्तै निर्जीबन बीमा कम्पनीको शाखा संख्या ८२९ वटा रहेको छन् । माघमा भन्दा फागुनमा ३७ वटा शाखा कार्यालय थपिएका छन् ।

यस्तै निर्जीबन बीमा कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा कर्मचारीको संख्या पनि बढी नै रहेको छ । कम्पनीको हिसाबले जीवन बीमा १९ वटा र निर्जीबन बीमा कम्पनी २० वटा रहेका छन् ।

जीवन बीमा कम्पनीमा चार हजार ४४८ जना कर्मचारी कार्यरत रहेका छन् । जीवन बीमा कम्पनीहरुमा कर्मचारी थपिने क्रम बढेको छ । माघमा भन्दा फागुनमा २९० कर्मचारी थपिएका छन् ।

यस्तै निर्जीबन बीमा कम्पनीमा चार हजार ४१३ जना कर्मचारी कार्यरत रहेका छन् । माघ महिनामा भन्दा फागुन महिनामा २३ जना कर्मचारी थपिएका छन् ।


क्लिकमान्डु